‘रेट कटिङ’ गरेर बीमा गराउन सबै बीमा कम्पनी माहिर, प्राधिकरणले थाल्यो छानबिन

काठमाडौं । देशमा सञ्चालित प्राय सबै निर्जीवन बीमा कम्पनीहरूले तेस्रो पक्ष बीमाको ट्यारिफ उल्लंघन गरेको बीमा प्राधिकरणको निरिक्षणबाट देखिएको छ । बीमा कम्पनीहरूले ट्यारिफ उल्लंघन गरेसँगै बजारमा अस्वस्थ प्रतिस्पर्धामात्रै बढेको छैन यसले कानुनी व्यवस्था कै खिल्ली उडाएको छ ।

निर्जीवन बीमा कम्पनीहरूले गर्ने बीमाको क्षेत्रअनुसार ट्यारिफ तोकिएको भएपनि कम्पनीहरूले विजनेश आफ्नो हातमा पार्नको लागि अस्वस्थ प्रतिस्पर्धा गरिरहेको नेपाल बीमा प्राधिकरण उच्च स्रोतले जानकारी दिएको छ । ‘बीमा कम्पनीहरू सबैले ‘रेट कटिङ’ गरेर बीमा गरेको पाइएको छ,’ प्राधिकरण उच्च स्रोतले भन्यो ‘अब विस्तारै यस्तो अस्वस्थ प्रतिस्पर्धा गर्ने सबै कम्पनीहरूको छानबिन गरी कारवाही गर्ने तयारीमा छौं ।’

उनका अनुसार निर्जीवन बीमा कम्पनीहरू सबैले अस्वस्थ प्रतिस्पर्धा गरको निरिक्षणबाट पाइएको बताएको छ । नन् ट्यारिफमा पोलिसीको प्रिमियम थपघट गरेर जसरी पनि गर्न पाइने भएपनि ट्यारिफ भित्र पर्ने क्षेत्रमा प्रिमियम थपघट गर्न नपाइने व्यवस्था मिनिमम प्रिमियम रेट फर ट्यारिफ इन्स्योरेन्स विजनेश निर्देशिकामा उल्लेख गरिएको छ ।

बीमा समितिले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, अग्नी बीमा, मोटर बीमा, दुर्घटना बीमामा बीमा दर कायम गरेको छ । यस्तै, कृषि तथा बाली बीमा र लघु बीमामा समेत बीमा दर निर्धारण गरेको छ ।

केहि समय अघि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले नेपाली सेनाका गाडीहरूको तेस्रो पक्ष बीमा गराउँदा रेट कटिङ गरेपछि निर्जीवन बीमा क्षेत्रनै यो यस्तो खालको हर्कत छ भनेर प्राधिकरणले निरिक्षण गरेको थियो । यसरी हेर्दा प्राय सबै बीमा कम्पनीहरू रेट कटिङ गरेर बीमा गरेको पाइएको हो ।

नेपाली सेनाका सवारी साधनहरुको तेस्रो पक्ष बीमा अघिल्ला वर्षहरुमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले गर्दै आएको थियो । कम्पनीले प्रचलित दरभाउमा बोलकबोलबाटै त्यस्तो बीमा गराउँदै आएको थियो ।

तर, यसपाली भने सानिमा जीआईसीले प्रचलित ट्यारिफ भन्दा न्यून दर प्रस्ताव विजनेश आफ्नो हातमा पार्न सफल भएपछि यसअघि नेपाली सेनाले प्रयोग गर्ने सवारी साधनको बीमा गर्दै आएको राष्ट्रिय बीमा कम्पनी रुष्ट बनेपछि बीमा कम्पनीहरूको हर्कत स्पष्टसँग बाहिर आएको हो ।

सानिमा जीआईसीले आफ्नो व्यवसाय खोसेको मात्रै होइन, बीमा बजारमा ट्यारिफको दररेट नै बिगारेको भन्दै राष्ट्रिय बीमा कम्पनीले बीमक संघ र नेपाल बीमा प्राधिकरणमा उजुरी गरेको छ । नेपाली सेनाले २०७९ असोज ५ गते आफ्ना सवारी साधनहरुको तेस्रो पक्ष बीमाका लागि स्वदेशी बीमा कम्पनीहरुलाई दरभाउ प्रस्ताव माग्दै बोलपत्र आव्हान गरेको थियो । सेनाले गत वर्ष नेपाली सेनाका २ हजार ८४७ वटा सवारी साधनहरुको एक करोड ६६ लाख ६३ हजार ४ सय ७ रुपैयाँ १७ पैसा(भ्याट बाहेक)मा राष्ट्रिय बीमा कम्पनीले तेस्रो पक्ष बीमा गरेको थियो ।

यसपाली सेनाका सवारी साधनहरुको संख्या २ हजार ९२२ वटा पुगेपछि राष्ट्रिय बीमा कम्पनीले भ्याट बाहेक एक करोड ६९ लाख १३ हजार ९ सय ७० रुपैयाँ प्रस्ताव गरेको थियो । तर सानिमा जीआईसीले भने एक करोड ४० लाख ५९ हजार ७० रुपैयाँ सेनाको बिजनेश हात पार्न सफल भयो । सेनाको बिजनेश हात पार्न सानिमा जीआईसीले बीमा प्राधिकरणद्धारा तोकिएको बीमा शुल्क(ट्यारिफ)को मापदण्ड उल्लंघन प्रमाणित भइसकेको छ ।

सानिमा जीआईसीको उजुरीमाथि अध्ययन भैरहेको र कम्पनीसँग विस्तृत विवरण मागेर पत्राचार गरेको समितिले जनाएको छ । सानिमा जीआईसीले रेट कटिङ गरेको पुष्टि भएमा २ लाख रुपैयाँ जरिवाना तिर्नुपर्छ । प्राधिकरणले केहि दिन अघि मात्रै उधारो बीमा गरेको भन्दै नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई दुई दुई लाख रुपैयाँ जरिवाना गराएको थियो । यो जरिवाना बीमा व्यवसायको सबैभन्दा ठूलो जरिवाना मानिएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स