काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा शिवनाथ पाण्डे नियुक्त भएका छन् । आइतबार नेपाल बीमा प्राधिकरणले पाण्डेलाई सीइओ बन्न स्वीकृति दिएको हो ।
सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बनेको सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेको थियो । दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट चैत ९ गतेदेखि एकीकृत कारोबार सुरु गरिसकेका छन् ।
जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।
यसअघि सूर्या लाइफ इन्स्योरेन्समा सीईओको जिम्मेवारी सम्हालेका पाण्डे हाल कुनै पनि बीमा कम्पनीमा आबद्ध छैनन् । । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हालेका छन् ।
पाण्डेले सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् ।