शिखर इन्स्योरेन्सको १७ औं र १८ औं साधारणसभामा सीईओ पाण्डेले खोले शिखरको स्ट्रेन्थ

काठमाडौं ।शिखर इन्स्योरेन्सको १७ औं र १८ औं वार्षिक साधारणसभामा प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले कम्पनीको सल्भेन्सी मार्जिन राम्रो रहेको बताएका छन् । उदाहरण दिँदै उनले भने ‘आज मसँग एक रुपैयाँ छ । तर मैले २ रुपैयाँको जोखिम लिएँ भने म इन्सल्भेन्ट अर्थात बन्द हुन सक्छु । तर आज हाम्रो १०० रुपैयाँको जोखिम छ भने ३२५ रुपैयाँ हामीसँग जगेडा छ । त्यसैले हामी सल्भेन्ट छौं । र, हामीले जति जोखिम लिएका छौं, त्यो तिर्न हामी सक्षम छौं ।’
नेपालका बीमा कम्पनी पनि आगामी दिनमा यो मोडालिटिमा जान्छन् । त्यस्तै, कम्पनी ओन रिक्स एण्ड सोल्भेन्सी एसेस्मेन्ट (ओआरएसए) सिस्टममा जानुपर्छ । अर्थात कम्पनीले यो बिजनेसमा यति जोखिम लिन्छु भनेर एउटा अनुशासनमा रहेर पोलिसी बनाउनुपर्छ । जुन पोलिसीलाई नियामकले स्वीकृत गरेर निगरानीमा राखिरहेको हुन्छ ।

मेरो २९ वर्षको बुझाइमा बीमा यस्तो मार्केट हो जहाँ बीमितको विश्वास जित्नुपर्छ । बीमितको विश्वास जित्नलाई दावी तिर्नुपर्छ । बीमितको जति दावी तिर्यो त्यति बीमा बजार बढ्दो रहेछ । यसको लागि मेरो सञ्चालक समिति र मेरो टीमलाई धेरै धन्यवाद पनि दिन चहान्छु । सर्वसाधारणमा शिखर प्रतिको विश्वास बढेको छ, जसले गर्दा हाम्रो बीमा बजार बढ्दै गएको छ ।
शिखरको लगानी बढ्दो क्रममा छ । आजको दिनमा करिब ४ अर्ब २५ करोड बढीको लगानी भइसकेको छ । कम्पनीले मुद्दति निक्षेपमा २७१ करोड, ऋणपत्रमा ६६ करोड, नेपाल पुनर्बीमा कम्पनीमा १६ करोड २० लाख, सेयरमा १८ करोड ७७ लाख जसमा ४ करोडको जतिको असर परेको हो । तर आजको दिनमा हामी सेयर लगानीमा नोक्सानमा छैनौं । विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रमोटर सेयरमा कुल ९ करोड ४५ लाख र पूर्वाधार क्षेत्रमा १७ करोड ४४ लाखको लगानी छ । दीर्घकालिन लगानी ९ करोड ४५ लाख थियो भने अहिले बढेर १७ करोड पुगेको छ । हालको पूर्वाधार क्षेत्रको प्रोजेक्टले दीर्घकालमा हामीलाई राम्रै प्रतिफल दिने विश्वास छ ।

३ लाख ४३ हजार बीमा पोलिसी पुगेको कम्पनीको अहिले झरेर २ लाख ३५ हजार पुगेको देखिन्छ । यो किन घट्यो भने नेपालमा मोटरसाइकल बीमामा एकदमै अस्वस्थ प्रतिस्पर्धा हुन थाल्यो । लगभग ३५ वटा यतायात कार्यालयहरुमध्ये हामी ३२ वटाबाट बीमा गर्थ्यौं ।

बजारमा अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेपछि सबै बीमा कम्पनी र बीमा प्राधिकरण मिलेर यसलाई मार्केट पुल बनाऔं भनेपछि एउटा कार्यालयमा दुई तीन वटा कम्पनी मात्रै राखौं भन्ने भयो । सो अनुसार ३२ वटाबाट बीमा गरेका हामीले तीन वटा कार्यालय (प्रदेश नम्बर १, मधेष प्रदेश र बागमती प्रदेश) बाट मात्रै पोलिसी जारी गर्ने भएको हुनाले जारी बीमालेखको संख्या घटेको हो । अब विभिन्न शाखा विस्तार गरेर अघि बढेपछि चालु आवमा ३ लाखको पोलिसी जारी गर्नेछौं ।

नयाँ बीमा ऐन आएको छ । त्यसमा पुराना निर्देशनहरुलाई समावेश गरिएको छ भने जरिवाना (पेनाल्टी) हरु बढेका छन् । हामीले सुशासनमा धेरै नै जोड दिएका छौं । त्यसैले हामी के मा विश्वास गर्छौं भने हामीले बदमासी गर्नु छैन, हामीलाई डराउनु छैन, हामी पेनाल्टीमा नडराऔं, अगाडि बढौं भन्ने थिममा हाम्रो टीम लागेको छ । यसले कम्पनीको व्यवसाय विस्तारमा राम्रो भूमिका खेल्छ ।

बजारमा स्वस्थ र अस्वस्थ दुई वटै किसिमको प्रतिस्पर्धा छ । हामी स्वस्थ प्रतिस्पर्धासँग डराउँदैनौं । तर अस्वस्थ प्रतिस्पर्धाले हामीलाई धेरै नै असर गरेको हुन्छ ।
कृषि र लघुबीमा नेपालको लागि आवश्यकता हो । हामी तथा सञ्चालक समितिको प्रिन्सिपल के छ भने नेपाली जनताको आर्थिक अवस्थामा सुधार आयो भने बीमा बजारमा आफै सुधार आउँछ । आजको दिनमा बीमा बजार किन बढेन भन्ने हो भने बीमा हाम्रो बीमितको क्रयशक्तिसँग जोडिएको हुन्छ ।

हामीले किसान तथा न्यून वर्गमाझ लघुबीमा लान सक्यौं भने उहाँहरुको आर्थिक अवस्था उकासिन्छ । सोही अनुसार हामी उहाँहरु माझ पुगेका छन् । ९ करोडबाट २२ करोड, २२ करोडबाट ३६ करोडको बीमा गरेका थियौं । चालु आवमा करिब ६० करोड र आउँदो आवमा १०० करोडको लघुबीमा व्यवसाय गर्ने हाम्रो टार्गेट छ । यसको लागि शाखा कार्यालय विस्तार गर्नुपर्ने हुन्छ । सोही अनुरुप हामीले शाखा कार्यालय बढाउँदै गएका छौं । हामीले आज ११० वटा शाखा सञ्चालनमा ल्याएका छौं ।

जुम्ला, हुम्ला, मुगु र कालिकोट यी चार वटा जिल्लामा ६ वर्ष अघि हामीले बीमा गर्दा जम्मा २ लाखको बीमाशुल्क उठेको थियो भने यो आवमा लगभग २२ करोडको बीमाशुल्क संकलन भएको छ । स्याउको बीमा परिकल्पना गर्ने त्यहाँका कृषकले आज वास्तवमै गर्नुभएको छ । त्यहाँका कृषकहरुले फुँजी ब्राण्डको स्याउ बीमा रोप्न थालिसक्नु भएको छ । यसले बीमा बजार बढ्दै गएको देखाउँछ ।

हामी एउटा ग्रोथ मोडमा गएका छौं । दुई वर्षमा हामी बीमाशुल्कमा ३५० करोडबाट ५०० करोडको ग्रोथमा पुग्यौं । यसरी कम्पनी बलियो हुँदै गएको छ । तर, व्यवसाय बढेको अनुसार कम्पनीका सेयरधनीलाई दिनु पर्ने प्रतिफल आएको हुँदैन । सायद चालु आवमा हामी ५५० देखि ६०० करोडको हाराहारीमा बीमाशुल्क संकलन गर्छौं । त्यसपछि हामी कन्सोलेडेसन मोडमा जान्छौं । त्यसपछि रिजर्भहरुबाट कम्पनीमा प्रतिफल आउन थाल्छ र फेरि रिटर्न दिन सक्छौं ।

हाम्रो चुक्ता पुँजी २ अर्ब ६५ करोड पुगेको छ । जुन नियामक निकायले तोकेको पुँजीभन्दा बढी हो । त्यसैले पनि हामीलाई मर्जर आवश्यक छैन । तर अन्य कम्पनी धमाधम मर्ज हुँदा हामीलाई चुनौती थपिएको छ । अन्य कम्पनी अगाडि नजाउन् भन्दा पनि हामी अझ अघि कसरी बढ्न सक्छौं ? त्यो ग्याप कसरी कायम राख्न सक्छौं ? त्यतातिर हाम्रो लागि चुनौति छ । आजको दिनमा मर्जरमा गएका कम्पनीभन्दा ४०÷५० प्रतिशत बढी प्रिमियम संकलन गर्न सफल भएका छौं । अरु आँकडाहरुमा पनि हामी अगाडि नै छौं । तैपनि उपयुक्त वातावरण भयो भने मर्जरमा जानु पनि पर्छ । प्रतिस्पर्धी बजारमा नम्बर वान कम्पनीको रुपमा रहन यो आवश्यक हुन्छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स