लुम्बिनी जनरल र सगरमाथा इन्स्योरेन्सबीच मर्जरको अन्तिम सम्झौता, स्वाप रेसियो कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच मर्जरको अन्तिम सम्झौता भएको छ। मंगलबार काठमाडौंको लाजिम्पाटस्थित होटेल र्याडिसनमा एक कार्यक्रम आयोजना गरी दुवै कम्पनीहरु आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता सम्पन्न भएको हो।

सम्झौतामा लुम्बिनी जनरलका तर्फबाट अध्यक्ष मनोहरदास मूल र सगरमाथा इन्स्योरेन्सका तर्फबाट अध्यक्ष रामकृष्ण मानन्धरले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिएपश्चात बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमति भएको छ। मर्जरसम्बन्धी विशेष प्रस्ताव दुवै कम्पनीको आगामी हुने साधारणसभामा लगिनेछ।

दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए रिपोर्टसमेतका आधारमा सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १००ः८० कायम रहने जनाइएको छ।

मर्जरपश्चात बन्ने कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिमा दुवै कम्पनीका तर्फबाट ३/३ जना र एकजना स्वतन्त्र सञ्चालक रहने छन् भने सञ्चालक समितिको अध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट र प्रमुख कार्यकारी अधिकृतमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट हाल रहेका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री रहनेछन्।

साथै, दुवै कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणअनुसार प्रस्तावित बोनस सेयर वितरणपश्चात स्वाप रेसियो गणना गरी मर्जरपश्चात कायम हुने कम्पनीको चुक्तापुँजी २ अर्ब ६२ करोड २६ लाख ३८ हजार १९५ रुपैयाँ कायम रहनेछ।

कार्यक्रममा दुवै कम्पनीका सञ्चालक, प्रमुख कार्यकारी अधिकृतलगायतका पदाधिकारीहरुको उपस्थिति थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स