बीमा व्यवसाय दोब्बर गर्न अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले ५वर्षभित्रमा बीमा व्यवसाय दोब्बरले वृद्धि गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।

प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुसँग भएको बीमा अभिकर्ता व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले दोब्बर व्यवसाय वृद्धि गर्ने गरी परिकल्पना गरेर अघि बढ्न निर्देशन दिएका हुन् ।

‘एक अर्काको बीमालेखको नक्कल नगरी नयाँ बीमालेख ल्याउन तथा अस्वस्थ प्रतिस्पर्धा नगर्नुस्,’ उनले भने ‘बीमा अभिकर्ता बीमाका बारेमा राम्रोसँग बुझेको, बीमा व्यवसायका बारेमा जानकारी भएको, बीमा कम्पनीका बारेमा थाहा भएको हुनुपर्छ ।’

आइतबार भएको बिमान दुर्घटनाको बीमा दाबी भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै अध्यक्ष सिलवालले भने ‘ठूला जलविद्युत आयोजना लगायत ठूला किसिमका संरचनाहरुको बीमा गराउनका लागि बीमा कम्पनीहरुबाट पनि प्रयास हुनुपर्छ ।’ कम्पनीहरुले आफूले आर्जन गरेको रकमको दुई प्रतिशत कर्मचारीहरुको क्षमता अभिवृद्धिमा खर्च गर्नुपर्यो । त्यसका लागि कर्मचारीहरुले पनि व्यवस्थापनसँग माग गर्नुपर्यो ।

कार्यत्र,ममा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा ऐनमा व्यवस्था भए बमोजिम एक बीमक, एक बीमा अभिकर्ता गर्नका लागि नदोहोरिने गरी प्रविधिमैत्री किसिमले बीमा अभिकर्ताको व्यवस्थापन गर्न लागिएको जानकारी दिए ।

प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले प्राधिकरणले आफ्ना काम कारवाहीलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएको जानकारी दिए ।यस्तै प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले बीमा कम्पनीले बीमा अभिकर्तालाई कामबाट अगल गर्दा निजसँग लेनदेन बाँकी नरहेको प्रमाणपत्र दिनुपर्ने र बीमा अभिकर्ताले बीमा कम्पनीमा प्रवेश गर्दा विगतमा अन्य कम्पनीमा काम गर्दा लेनदेन बाँकी भए आफैले बुझाउने कबुलियतनामा गरेको हुनुपर्ने स्पष्ट पारे ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स