यसरी सुरु भयो नेपाल पुनर्बीमा कम्पनी

संस्थापक सीईओ (२०७१ कात्तिक देखि २०७२ सम्म) नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनी स्थापना गर्नमा आकस्मीक बीमा कोषका तत्कालिन कार्यकारी प्रमुख रमेश लम्सालको मुख्य भुमिका छ । आकस्मीक बीमा कोषमा कार्यकारी प्रमुख हुँदा हुदैं उनले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गरेका थिए । साथै, उनी बाँकी रहेको कार्यकालभरका लागि नेपाल पुनर्बीमा कम्पनीको सीईओ स्वतः भए । त्यो अवस्थामा पुनर्बीमा कम्पनी स्थापना गर्ने अवधारण कहाँबाट आयो ? नेपालमा पुनर्बीमा कम्पनी स्थापना गर्नुको उद्देश्य के थियो ? प्रस्तुत छ, सोही बिषयमा केन्द्रीत रहेर उनै लम्सालसँग गरेको कुराकानीको सारः

नेपालका बीमा कम्पनीहरुले विदेशी कम्पनीमा पुनर्बीमा गर्न पाएकै थिए । साथै, आतंकबाद तथा हुलदंगा बीमाको पुनर्बीमा गर्न आकस्मीक बीमा कोष त थियो नै । त्यो अवस्थामा कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्नुपर्छ भन्ने अवधारण अथावा भावना कसरी आयो ?

अन्तरराष्ट्रिय बजारलाई हेर्दा भुटान, युगान्डा जस्ता नेपाल भन्दा साना मुलुकमा पुनर्बीमा कम्पनी सञ्चालनमा आइसकेका थिए । तर, उनीहरु भन्दा विकसित मुलुक मानिने नेपालमा भने पुनर्बीमा कम्पनी नहुनु बिडम्बनाको कुरा थियो । सोही कारण पनि नेपालमा पुनर्बीमा कम्पनी स्थापना गर्नुपर्छ भन्ने लागेको हो, किनकी यो हाम्रो प्रतिष्ठासँग जोडिएको बिषय समेत बनेको थियो ।

यस्तै, पुनर्बीमा कम्पनी हुन र नहुनुमा पनि धेरै फरक पर्छ । किनभने, बीमा कम्पनीले आफुले गरेको व्यवसायको पुनर्बीमा गर्नैपर्छ । तर, नेपालमा पुनर्बीमा कम्पनी नहुँदा यहाँका बीमा कम्पनीले विदेशी कम्पनीमा पुनर्बीमा गर्दै आएका थिए । त्यसबापत बार्षिक १२/१४ अर्ब रुपैयाँसम्म बाहिरीन्थ्यो । त्यसैले पनि नेपालमा पुनर्बीमा कम्पनीको आवश्यकता उच्च थियो । त्यसपछि आतंकबाद बीमाको पुनर्बीमा गर्दै आएको कोषलाई नै पुनर्बीमा कम्पनीको रुपमा रुपान्तरण गर्ने योजना अघि सारेको हो ।

साथै, पुनर्बीमा कम्पनी स्थापना गर्नुको पछाडी दुई मुख्य उद्देश्य पनि थियो । एक, पुनर्बीमा मार्फत नेपालदेखि बाहिरीने रकम कम गर्दै लैजानु थियो । दोस्रो भने, विदेशी मुलुकमा व्यवसाय विस्तार गरेर विदेशी मुद्रा आर्जन गर्नु हो । सोहीअनुसार नेपाल पुनर्बीमा कम्पनी स्थापना गरेको हो ।

त्यसपछि कोषको बिभिन्न कोषमा भएको रकमलाई डीडीए गरेर चुक्तापुँजीमा रुपान्तरण गरियो । १० करोडबाट शुरु भएको उक्त कोषमा झण्डै २ अर्ब पुँजी भइसकेको रहेछ । त्यसमा नेपाल सरकार, बीमा कम्पनीहरुलाई थप सेयर लगानी गर्न लगाएर ५ अर्ब वा १० अर्बको चुक्तापूँजी बनाई २१ कात्तिक २०७१ मा कम्पनी दर्ता गरेको हो । त्यसपछि म पनि कोषको कार्यकारी प्रमुख भएको नाताले बाँकी कार्यकालको लागि स्वत कम्पनीको सीईओ भए । त्यसपछि म २०७२ बैशाखसम्म कम्पनीको सीईओ भएर काम पनि गरे । त्यसबेला मैले बिशेषगरि कम्पनीलाई सञ्चालनमा ल्याउने प्रक्रियागत काम गरेको थिए ।

आकस्मीक बीमा कोष भने कसरी स्थापना भएको थियो नि ?

यसको एउटा छुट्टै इतिहास छ । त्यो कोष २०६०र६१ मा स्थापना भएको हो । त्यसभन्दो केही समय अघि पेन्टागनको ट्वीन टावरमा हवाई आक्रमण भएको थियो । त्यसपछि अन्तरराष्ट्रिय बजारका बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरु हच्कीए । त्यो घटना पछि पुनर्बीमा कम्पनीहरुले त आतंकवाद सम्बन्धी बीमाको पुनर्बीमा नै गर्न छोडे । त्यसबेला नेपालमा पनि मोओवादी जनयुद्ध कायमै थियो । फलस्वरुप नेपालमा पनि ठुलो मात्रामा मानवीयन तथा आर्थिक क्षति भएको थियो । त्यही कारण बीमा कम्पनीहरुमा पनि दावी बढ्दै गएको थियो । त्यो अवस्थामा हामीलाई आतंकवाद सम्बन्धी पुनर्बीमा गर्न आवश्यक थियो, जुन भइरहेको पनि थियो । तर, ट्विइन टावरमा भएको आक्रमणपछि विदेशी पुनर्बीमाहरुले पुनर्बीमा नै गर्न छोडे, त्यसपछि बाध्य भएर आकस्मीक बीमा कोष स्थापना गरेको हो ।

नेपाल सरकारले ५ करोड र बीमा कम्पनीहरुले ५ करोड गरेर १० करोडको पुँजीमा कोष स्थापना भएको हो । बिशेषगरि त्यसबेलाका बिभिन्न १४ ओटा निर्जीवन बीमा कम्पनीहरुको सक्रियतामै उक्त कोष स्थापना भएको हो । विदेशी कम्पनीले आतंकवादको पुनर्बीमा लिन छोडेपछि बीमा कम्पनीहरु आफै कोष स्थापनामा सक्रिय भएका हुन् । त्यो कोषले तत्कालिन समयमा आतंकवाद सम्बन्धी बीमाको मात्रै पुनर्बीमा गर्दथ्यो ।

तपाईले कोषको प्रमुख कार्यकारी हुदाँहुदैं कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने अवसर पाउनु भयो । साथै, बाँकी कार्यकाल भर कम्पनीको सीईओ भएर पनि काम गर्नुभयो, त्यो क्षणलाई कसरी सम्झनु हुन्छ ?

मैले नेपाली बीमा क्षेत्रमा एउटा माइल स्टोन नै सावित गरे जस्तो लाग्छ । किनभने, कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने योजना २०६४र६५ बाटै सरकारको बार्षिक बजेट तथा कार्यक्रममा पर्दै आएको थियो । तर, त्यसबेलाका कार्यकारी प्रमुखले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्न चाहेनन् । किनकी, पुनर्बीमा कम्पनीमा रुपान्तरण गरेपछि आफ्नो पद गुम्छ भन्ने डर उनीहरुमा भयो । तर, मैले त्यो डर भने लिएन । र, मैले कोषलाई पुनर्बीमा कम्पनीमा रुपान्तरण गर्ने अघि बढाए र सफल पनि भए । त्यो साच्चै नै बीमा क्षेत्रको लागि एक माइल स्टोन नै हो । त्यो इतिहास मेरो नेतृत्वमै कायम भयो, त्यसमा मलाई गर्व लाग्छ ।

यो सफलताको पछाडी मुख्य गरि ५ व्यक्तिहरुको बिशेष सहयोग छ । तत्कालिन अर्थमन्त्री बर्षमान पुन, बीमा समितिका तत्कालिन अध्यक्ष फक्त बहादुर केसी, अर्जुन प्रसाद पोखरेल, तत्कालित सचिव बैकुण्ठ अर्याल र डिएम पराजुलीको बिषेश सहयोग रह्यो, उहाँहरुको सहयोगमा नै यो कम्पनी स्थापना गर्न सफल भयौं ।

नेपालमा पुनर्बीमा कम्पनी आफैमा नयाँ अभ्यास थियो, त्यो अवस्थामा कम्पनी स्थापना गर्न केही चुनौती भए कि ?

पक्कै पनि कम्पनी स्थापना गर्दा बिभिन्न चुनौती सामना गर्न पर्यो । बिशेषगरि हामीलाई पुँजी जुटाउन समस्या भयो । डिडिए गरेपछि आकस्मीक बीमा कोषबाट करिब २ अर्ब पुँजी बनेको थियो । त्यसलाई १० अर्ब पुर्याउन निकै सास्ती भयो । त्यसपछि पहिला शेयर सदस्य भएका निर्जीवन बीमा कम्पनीहरुलाई पनि थप लगानी गर्न भनियो । साथै, जीवन बीमा कम्पनीहरुलाई पनि शेयर लगानी गर्न अनिवार्य गरियो । त्यो बाहेक सरकारले पनि थप लगानी गर्यो । त्यसपछि नेपाल पुनर्बीमा कम्पनी स्थापना गरियो ।

कम्पनी स्थापना गर्ने मामलामा तपाईको योगदान महत्वपूर्ण छ । तर, तपाईको कार्यकाल धेरै बाँकी नहुदाँ तपाई कम्पनीमा लामो समयसम्म रहनु भएन । अहिले तपाई कम्पनी भन्दा बाहिर नै हुनुहुन्छ । बाहिरबाट हेर्दा कम्पनीको गतिविधि तथा विकास कत्तिको देख्नु हुन्छ ?

हो, म कम्पनीमा लामो समयसम्म भइन । तर, २०७७ मा केही समय सञ्चालक समितिको सदस्य भएर काम गर्ने अवसर भने पाए । त्यो पनि केही महिना मात्रै भयो । सञ्चालकमा बस्दा भने कम्पनीलाई नजिकबाट नियाल्ने अवसर पाए, त्यो हेर्दा जे सोचेर कम्पनी स्थापना गरेका थियौं, त्योअनुसार सञ्चालन भएको अल्ली देखिएन ।

विदेशी कम्पनीहरुले जसरी काम गरेका छन्, नेपाले रिले अझै त्योअनुसार काम गर्न सकिएको छैन । साथै, त्यसका लागि मार्केटीङ पनि पुगेको देखिदैन । विज्ञ तथा दक्ष जनशक्ति राखेर काम गर्नुपर्थ्यो, त्यो भने भएको देखिदैन ।

म सीईओ भएर पुनः काम गर्न पाएको भए हुन्थ्यो होला । त्यो अवसर जुटेन । तर, समग्रमा कम्पनीको विकास राम्रो नै छ । तर, जुन अनुसार हुनुपर्ने हो, त्योअनुसार भएको देखिदैन ।

तत्कालिन समयमा नेपाल सरकार र बीमा समितिको सहयोग भने कस्तो रह्यो ?

मैले मेरो कार्यकालमा सरकार र बीमा समितिको सहयोग राम्रो पाएको हो । समितिका तत्कालिन अध्यक्ष फत्त सरले हरेक भेटमा कोषलाई कम्पनीमा रुपान्तरण गर्न प्रोत्साहन गर्ने तथा झकझाउनु हुन्थ्यो । सरकारले पनि राम्रो सहयोग गरेको थियो । समग्रमा त्यसबेला समिति र सरकारको राम्रो सहयोग थियो ।

तपाई सीईओ हुदाँ कम्पनीको विकासको लागि के कस्तो नीति ल्याउनु भएको थियो ?
पहिला त मैले कम्पनीको जग बसाल्ने गरि काम गरेको हुँ । सोहीअनुसार नै मैले व्यवसायीक नीति ल्याएको थिए । सोही कारण अहिले कम्पनी यो स्थानमा आएको छ ।तर, म कम्पनीमा लामो समयसम्म रहीन । त्यसकारण मैले शुरुवाती चरणमा कम्पनीलाई कारोबार गर्ने स्थानसम्म पुर्याउने गरि काम गरे । त्यो भन्दा बढी काम गर्ने गरि रणनीति बनाउनै पाइएन ।

मेरो कम्पनीमा कार्यकाल पनि छोटो भयो । पुनः सीईओ हुने मनाशयमा पनि थिए । तर, यसमा राजनीतिक नियुक्ती हुन्थ्यो । तर, मैले त्यसका लागि लविङ नै गर्न पाइन । किनकी त्यसबेला २०७२ बैशाख १२ गतेको भुकम्पले सबै तिर क्षतविक्षत तथा क्रास थियो । त्यसले गर्दा मैले तयारी पनि गर्न पाइन । तर, मलाई यसा केही गुनासो छैन । कम्पनी स्थापना गरेर इतिहास रचे, त्यसमै म खुसी छु ।

अबका दिनमा नेपाल पुनर्बीमा कम्पनीले के कसरी काम गर्नु पर्छ ? यसमा तपाईको सुझाव के छ ?

अझै पनि कम्पनी स्वदेशी बजार तथा बीमा कम्पनीबाट आउने डाइरेक्शेसन व्यवसायमा केन्द्रीत छ । डाइरेक्सेसन मार्फत आउने व्यवसायमा त कुनै दुःख नै गर्न पर्दैन नि । डाइरेक्सेशन व्यवसायले कम्पनी सरभाइव त होला, तर बलियो हुदैन । अहिले त कम्पनीमा सर्वसाधारणको सेयर पनि छ । उनीहरुलाई हरेक बर्ष प्रतिफल दिनुपर्ने कम्पनीको दायीत्व पनि छ । त्यसको लागि पनि व्यवसायमा बढाउन पर्नेछ । तसर्थ, व्यवसाय पनि बढाउने र दावी पनि समयमै दिने गरि कम्पनी अघि बढ्नुपर्छ ।

अहिले निजी क्षेत्रबाट हिमालयन रि इन्स्योरेन्स कम्पनीे आएसँगै यहाँ पनि प्रतिस्पर्धा हुन थालेको छ । तर, नेपालमा मै मात्रै प्रतिस्पर्धा गरेर बस्न हुदैन । बाहिरको बजारमा नेपाल रि इन्स्योरेन्स केन्द्रीत हुनुपर्छ ।

साथै, कम्पनीले आफ्नो प्रतिस्र्धा गर्ने क्षमता बढाउँदै लैजानुपर्छ । नेपालमा भोलिका दिनमा थप पुनर्बीमा कम्पनी नआउलान भन्न सकिदैन । साथै, विदेशी बजारमा पनि अन्य कम्पनीसँग प्रतिस्पर्धा त गर्नै पर्छ । तसर्थ, कम्पनीलाई कुनै पनि बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि विकास गर्नुपर्छ ।
तर, पुनर्बीमा भख्खर प्रवेश गरेका जनशक्तिबाट हुदैन । पुराना विज्ञहरुलाई ल्याएर पनि कम्पनीमा राख्नुपर्छ ।

नेपालमा अहिले अर्को पुनर्बीमा (हिमालयन रि) कम्पनी स्थापना भएको छ, त्यसलाई कसरी विश्लेषण गर्नु भएको छ ?

त्यो आउनु स्वभाविक हो । तर, नआएको भएपनि हुन्थ्यो । त्यो त नेपाल रिलाई सौता नै हालेको जस्तो भयो । तर, यसलाई बढी नकरात्मक रुपमा नलिऊ । तर, अब यो भन्दा बढी बीमा कम्पनी आवश्यक देखिदैन जस्तो लाग्छ ।

अन्त्यमा केही भन्न चाहानु हुन्छ ?

त्यस्तो मेरो खास केही छैन । मेरो नेतृत्वमा स्थापना भएको कम्पनीको बार्षिक उत्सव आएको छ, यो मेरो लागि पनि खुशीको बिषय हो । यो कम्पनी स्थापना गर्नमा मेरो ठुलो मिहिनेत छ । सोही कम्पनीको बार्षिक उत्सवको अवसरमा कम्पनीलाई हार्दिक बधाई तथा शुभकामना छ ।

नेपाल पुनर्बीमा स्मारिका, २०७९ बाट साभार गरिएको

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स