काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी वृद्वि गर्ने प्रस्तावलाई बीमा समितिले स्वीकृत प्रदान गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति प्राप्त भएबमोजिम विद्यमान संस्थापक सेयरधनीहरुबाट शतप्रतिशत पुँजी थप्न आह्वान गरेको छ ।
कम्पनीको पुँजी वृद्धि गर्ने सम्बन्धमा बीमा समितिबाट भएको निर्देशन बमोजिम असोज २६ गते सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाले हाल कायम रहेको संस्थापक सेयरधनीहरूबाट शत प्रतिशत अर्थात १ बराबर १ का दरले थप लगानी गर्ने निर्णय गरेको थियो ।
कम्पनीको उक्त निर्णयलाई बीमा समितिले स्वीकृत गरेसँगै कम्पनीले संस्थापक सेयरधनीहरूलाई आफ्नो नाममा हाल कायम कुल सेयर बराबरको थप रकम लगानी गर्न आग्रह गरेको हो ।
कम्पनीको संस्थापक सेयरधनीहरूले मंसिर ५ गतेभित्र रकम जम्मा गरिसक्नु पर्नेछ । संस्थापक शेयरधनीहरुले सिद्धार्थ बैंक, हात्तिसार, काठमाडौं र नबिल बैंक तिनधारा काठमाडौंमा रहेको बैंकखातामा रकम जम्मा गर्नुपर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । संस्थापकहरूले थप शत प्रतिशत पुँजी थपेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । त्यसपछि कायम चुक्ता पुँजीको ४० प्रतिशत १ अर्ब २० करोड रूपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ ।
त्यसपछि नपुग पुँजी कम्पनीले हकप्रद वा बोनस सेयर वितरण गरेर बीमा समितिको निर्देशन अनुसार चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्याउने तयारी गरेको छ ।