एशियन लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, १५.२६ प्रतिशत लाभांश पारित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको बिहीबार होटल क्लासिक सिमरा, बारामा उक्त सभा सम्पन्न भएको हो ।

उक्त सभाले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड रुपैयाँबाट १४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।

कम्पनीको हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारण सेयरको ६०ः४० अनुपातलाई बीमा समितिको स्वीकृति पश्चात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गरी संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित गरेको छ । साधारण सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको छ ।

यसबाहेक कम्पनीले आव २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, सोही आवको एनएफआरएस प्रणाली बमोजिम असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह सम्बन्धि विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । साथै आव २०७८/०७९ को लागि लेखापीक्षकको नियुक्त तथा निजको पारिश्रमिक समेत निर्धारण गर्ने जस्ता एजेण्डाहरु छलफल गरी पारित गरेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ४ गते एक दिनका लागि बुकक्लोजको गरेको थियो । यसअनुसार असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरुले मात्रै कम्पनीको प्रस्तावित लाभांश पाएका छन् ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको आ.व. २०७८/७९ असार मसान्त सम्ममा ३२ अर्ब जीवन बीमा कोष र करिब ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ । त्यसैगरी कम्पनीले आ.व. २०७८/७९ को असार मसान्तसम्ममा कूल २ अर्ब २३ लाख प्रथम बीमाशुल्क र ६ अर्ब ९६ करोड ६८ लाख ३८ हजार कूल बीमाशुल्क आर्जन गरेको छ । यस कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १०४ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स