काठमाडौं । कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको वर्षदिन नाघेको छ । यसैबीच सरकारले कोरोना बीमाको दाबी भुक्तानी गर्नका लागि १ अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको छ । लामो पखाइपछि कोरोना संक्रमितले बीमा भुक्तानी पाउने भएका छन् ।
गत साता बसेको मन्त्रिपरिषद बैठकले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रूपैयाँ निकासा गर्ने निर्णय गरेको उनको भनाइ छ । बीमा समितिको तथ्यांक तथ्यांकअनुसार २० वटा निर्जीवन बीमा कम्पनीमा १७ लाख ५८ हजार ३४३ जनाले कोरोना बीमालेख खरिद गरेका थिए । कम्पनीहरूले सो बीमा जारी गरे वापत १ अर्ब ५ करोड २७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।
१ लाख ६५ हजार ५९ जना बीमितको दाबी परेको समितिको तथ्यांक छ । सो संख्या बराबर बीमा कम्पनीमा १५ अर्ब ४२ करोड २३ लाख रूपैयाँको दाबी परेको हो ।
कुल दाबीमध्य हालसम्म ५१ हजार ६६९ वटा बीमा दावीवापत कम्पनीहरूले ४ अर्ब ९८ करोड १४ लाख ८८ हजार रूपैयाँ बराबरको भुक्तानी गरेका छन् । कोरोना बीमावापत अझै १० अर्ब ८४ करोड ६ लाख ८३ हजार रूपैयाँ बराबर भुक्तानी गर्न बाँकी छ । १ लाख १३ हजार ३९० वटा दाबी वापत सो रकम भुुक्तानी गर्न बाँकी रहेको हो ।
कोरोना बीमा मापदण्डमा कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रूपैयाँसम्म बीमकले र १ अर्ब रूपैयाँदेखि २ अर्ब रूपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।
२ अर्ब रूपैयाँदेखि २ अर्ब ५० करोड रूपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत र २ अर्ब ५० करोड रूपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रूपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ ।
कोरोना बीमा भुक्तानीका लागि बीमा कम्पनी, बीमा समिति, पुनर्बीमा कम्पनीहरूले आफ्नो दायित्व बहन गरिसकेका छन् । मापदण्डअनुसार भुक्तान गर्न बाँकी रहेको रकम सरकारले भुक्तान गर्नुपर्ने हो । सरकारले सो रकम भुक्तान नगर्दा विमितहरू मर्कामा परेका छन् ।