काठमाडौं । नेपालीले औसतमा वार्षिक ५ हजार ८ सय ६५ रुपैयाँ १९ पैसा तिरेर बीमा गर्ने गरेका छन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल नेपालको कुल जनसंख्यामध्य ४१.२० प्रतिशत बीमाको दायरामा आएका छन् । उक्त जनघनत्वअनुसार प्रतिव्यक्ति विमिकको बीमा खर्च करिब ६ हजार देखिएको हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा बीमा घनत्व प्रतिव्यक्ति ५ हजार १ सय १४ रुपैयाँ ५१ रुपैयाँ थियो । बीमाको घनत्वलाई हेर्दा जीवन बीमातर्फ बढी छ भने निर्जीवन बीमातर्फ १३ सयको हाराहारीमा एउटा बीमालेख जारी भएको देखिएको छ ।
बीमा क्षेत्रमा भएको यो कुल व्यवसायको घनत्वलाई प्रतिव्यक्तिसँग विभाजन गरेर हेर्दा जीवन बीमातर्फ प्रतिव्यक्ति बीमा शुल्क ४ हजार ५ सय ७३ रुपैयाँ ७१ पैसा र निर्जीवन बीमातर्फ १ हजार २ सय ९२ रुपैयाँ २१ पैसा पुगेको छ । अघिल्लो आर्थिक वर्ष जीवन बीमातर्फको बीमा घनत्व ४ हजार ५२ रुपैयाँ र निर्जीवन बीमातर्फ १ हजार ६२ रुपैयाँ १० पैसा रहेको छ ।
गत आर्थिक वर्ष २०७८÷७९ मा बीमा कम्पनीहरूले साढे १६ प्रतिशतले बीमा शुल्क बढाएर कुल १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । अघिल्लो आर्थिक वर्षमा सो शुल्क १ खर्ब ५२ अर्ब ६५ करोड रुपैयाँ थियो ।
गत आर्थिक वर्षमा कम्पनीले आर्जन गरेको बीमा शुल्कमध्य १ खर्ब ३८ अर्ब ६४ करोड जीवन बीमा शुल्क हो भने ३९ अर्ब १७ करोड रुपैयाँ निर्जीवन बीमा लेखा जारी गरेर प्राप्त भएको शुृल्क हो । कुल गार्हस्थ्य उत्पादनमा बीमाशुल्कको ३.६६ प्रतिशत अनुपात रहेको छ ।
कम्पनीहरूले साढे ६३ अर्ब तिरे दावी भुक्तानी
देशमा सञ्चालित बीमा कम्पनीहरूले गत आर्थिक वर्षमा ६३ अर्ब ४२ करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् । सोमध्य जीवन बीमा कम्पनीहरूले ४४ अर्ब ६० करोड रुपैयाँ दावी भुक्तानी गरेका छन् । गत वर्ष भुक्तान गरिएको दावी भुक्तानी अघिल्लो आर्थिक वर्षको तुलनामा ३५ प्रतिशतभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा बीमा कम्पनीहरूले ३३ अर्ब रुपैयाँ दावी भुक्तानी गरेका थिए । गत आर्थिक वर्षमा ३ लाख ३१ हजार ६३५ वटा दावी भुक्तानीको भुक्तानीमा सो रकम उपलब्ध गराइएको हो ।
निर्जीवन बीमा कम्पनीहरूले १ लाख ४१ हजार १८६ बीमालेख जारी गरेर १८ अर्ब ८२ करोड रुपैयाँ दावी भुक्तानी भुक्तान गरेका छन् । अघिल्लो आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले १७ अर्ब ३९ करोड रुपैयाँ दावी भुक्तानी गरेका थिए ।
बीमा क्षेत्रमा १२ हजारलाई प्रत्यक्ष रोजगारी
बीमा व्यवसायमा बीमा गर्ने बढेसँगै रोजगारीमा पनि वृद्धि भएको छ । बीमा क्षेत्रमा मात्रै अहिले प्रत्यक्ष रुपमा १२ हजार ३१ जनाले रोजगारी पाएका छन् । यो तथ्यांक समितिको कर्मचारीको समेत जाडेर निकालिएको हो । अघिल्लो आर्थिक वर्षसम्म बीमा क्षेत्रमा १० हजार ८८२ जनाले रोजगारी पाएका थिए ।
त्यसैगर िबीमा क्षेत्रलाई यो स्थानसम्म पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने बीमा अभिकर्ताको संख्या पनि देखिने गरी नै वृद्धि भएको छ । गत आर्थिक वर्षमा बीमा अभिकर्ताको संख्या १८.२६ प्रतिशतले बढेर २ लाख ९६ हजार ४०३ पुगेको समितिले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
साथै १ वर्षको अवधिमा बीमा सर्भेयरको संख्या पनि २१० प्रतिशतले वृद्धि भएर १२ सय ४० पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म यस्तो संख्या जम्मा ४ सयमात्रै थियो ।
जीवन र निर्जीवन बीमा कम्पनी दुबैको चुक्ता पुँजी बढ्यो
१ वर्षको अवधिमा बीमा कम्पनीले व्यवसायमात्रै वृद्धि नगरी चुक्ता पुँजी पनि बढाएका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूले ४ अर्ब ९८ करोड रुपैयाँले पुँजी वृद्धि गरेर ४३ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने निर्जीवन बीमा कम्पनीहरूको पुँजी २ अर्ब ९६ करोड रुपैयाँले बढेर २२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म जीवन बीमा कम्पनीको चुक्ता पुँजी ३८ अर्ब ९१ करोड र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १९ अर्ब ८४ करोड रुपैयाँ थियो ।