कर्मचारी समयोजनमा समस्या छैन, ‘एकताबद्ध भावका साथ अघि बढि सक्यौ’

काठमाडौं । साँच्चै भन्ने हो भने दुई कम्पनी एक आपसमा मर्ज हुन सजिलो छैन । कम्पनीको सम्पत्ति तथा दायित्वको हिसाव मिलेपनि कर्मचारीको व्यवस्थापन गर्ने कार्य अझ कठिन हुन्छ । कम्पनीहरू मर्जरमा गएपछि विशेष रुपमा उठ्ने गरेको विषय भनेको कर्मचारी व्यवस्थापन नै हो ।

दुई कम्पनीका कर्मचारीले स्तरहरूको पद र सेवा सुविधा नपाउँदा विशेष गरी मर्जरमा गएका कम्पनीहरू विवादमा तानिने गरेको पाइन्छ । किनकी यो स्वभाविक प्रक्रिया पनि हो, दुई कम्पनीका कर्मचारी एउटै छातामुनी आउँदा कसको कति सेवा सुविधा, कति तलव भत्ता, कसलाई कुन पद आदि इत्यादि ।

नेपालको बीमा बजारमा नयाँ इतिहास रच्दै पहिलो पटक हिमालय जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिए । गत साउन १ गतेबाट यी दुईबाट कम्पनीको व्यवसायिक यात्रा एकीकृत रुपमा सुरु भएको हो । अहिले यी दुई कम्पनी मर्जरमा गएको साढे १ महिना पुग्नै आँटेको छ ।

कम्पनीले यो अवधिमा कर्मचारी व्यवस्थापनको सबै कार्य सम्पन्न गरेर उनीहरूको तह/ स्तरअनुसारको कार्य सम्पादनको जिम्मेवारी पनि तोकिसकेको छ । १००ः८५ स्वाप रेसियामा एक आपसमा गाभिएका यी दुई कम्पनी मिलेर बनेको नयाँ बीमा कम्पनी हिमालय एभरेष्ट इन्स्योरेन्सले कर्मचारीको तलवमानदेखि वरिष्ठताको आधारमा विभागीय दायित्व पनि सुम्पेको छ । हिमालय जनरलको कर्मचारी विभागीय प्रमुख भएमा त्यो भन्दा तल्लो पोष्टको जिम्मेवारी एभरेष्ट इन्स्योरेन्सका कर्मचारीले सम्हालेको देखिएको छ ।

दुई कम्पनीका कर्मचारीहरूको तह तथा स्तर एउटै भएपनि एभरेष्ट इन्स्योरेन्सका कर्मचारीको तलब भत्ता बढी थियो भने हिमालयन इन्स्योरेन्सका त्यहि स्तरका कर्मचारीको तलवभत्ता कम थियो । कम्पनी एउटै भएपछि समान स्तरका कर्मचारीको तलब बराबर बनाउन लाग्दा केहि छिद्रहरू बाहिरिएको थियो ।

यसरी तलव बराबर बनाउनका लागि बढाउँदा हिमालय जनरलका कर्मचारीको तलब बढ्यो भने एभरेष्ट इन्स्योरेन्सका कर्मचारीको तलव यथावत रह्यो । यहि हैसियतमा एभरेष्ट इन्स्योरेन्सका कर्मचारीको तलव बढाउँदा हिमालयनका कर्मचारीका तलव जस्ताको तस्तै हुने हुँदा कर्मचारीको स्तर अनुसार समान तलव तथा सेवा सुविधा प्रदान गर्ने कम्पनीको रणनीति रहेको बताइएको छ ।

कर्मचारी समायोजनमा कुनै समस्या नभएको कम्पनीले जनाएको छ । दुबै कम्पनीका कर्मचारीले एकतावद्ध भाव राखेर काम कार्य सम्पादन गर्न थालिसकेको पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजय वहादुर शाहले बताए ।

यी सबै मिलाउँदा हिमालयन एभरेष्ट इन्स्योरेन्सको कर्मचारीको साउन महिनाको तलव पठाउन केहि दिन ढिला भएको थियो । साउन महिनाको तलब भदौ २ गते मात्रै पठाइएको हो । अहिले कर्मचारीको व्यवस्थापनको विषयमा कुनै विवाद नभएको र साप्ताहिक रुपमा क्यालिण्डर समेत बनेर सोही अनुसारको मिटिङ समेत फिक्स भइसकेको कम्पनीले जनाएको छ ।

यो अवधिमा कर्मचारी व्यवस्थापनको काम सम्पन्न गरेर इन्स्योरेन्स कम्पनीले नजिकै भएका शाखा सञ्जाललाई मर्ज गरेर त्यहि स्थानको पायक पर्ने नयाँ स्थानमा शाखा स्थानान्तरण गर्ने कार्य समेत अघि बढेको छ । नेपालगञ्ज, सिमरा तथा गोङ्गबुमा हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शाखा एकै स्थानमा भएकाले त्यहाँ भएको शाखालाई मर्ज गरी त्यसैको वरिपरि अर्को स्थानमा शाखा सञ्चालन गर्न लागिएको पनि कम्पनीले जनाएको छ । हाल कम्पनीले देशभरका ७५ शाखाबाट ४४० जना कर्मचारीले कार्य सम्पादन गरिरहेका छन् ।

हिमालयनको १ अर्ब १७ करोड र एभरेष्टको १ अर्ब २५ करोड चुक्ता पुँजी भएका यी दुई कम्पनी एक आपसमा गाभिएपछि २ अर्ब २३ करोड ९९ लाख चुक्ता पुँजी भएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बनेको हो । दुई कम्पनीको मर्जरबाट १ अर्ब १३ करोडको बीमा कोष बनेको छ भने १ लाख ९६ हजार ९०७ बीमालेखबाट ३१ करोड ९२ लाख बीमा शुल्क संकलन भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स