काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सले कारोबार सञ्चालनको अनुमति पाएको छ । गत आवदेखि नै कारोबार थाल्ने तयारी गरेको कम्पनीले ढिला गरी कारोबार अनुमति पाएको हो ।
कम्पनी रजिस्ट्रारको कार्यालयले साउन १० गते कारोबार स्वीकृति, सेयर तथा सञ्चालक लगत अभिलेख गरेको पत्र बीमा समिति र आन्तरिक राजस्व कार्यालयलाई वोधार्थको रुपमा पठाएको छ ।
कार्यालयले कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार सञ्चालक दर्ता किताब प्राप्त भएको बताएको छ । हिमालयन रिले औपचारिक कार्यक्रममार्फत् कारोबार थाल्ने योजना नबनाएको बुझिएको छ ।
कम्पनीले बीमा समितिबाट कारोबारको अन्तिम स्विकृति पाइसकेको छ । हिमालयन रिइन्स्योरेन्सले असार २४ गते पुनर्बीमा कम्पनी दर्ता प्रमाणपत्र पाएको हो । हिमालयन रिको डेपुटी सीईओ एमके कपुर हुन् । कम्पनीको व्यवस्थापन नेतृत्व चन्द्र शेखरनले गर्ने बताइएको छ । उनीसँग भारतीय सरकारी इन्स्योरेन्स कम्पनी जनरल इन्स्योरेन्स कर्पोरेसनमा काम गरेको अनुभव छ ।
हिमालयनले गत जेठ १६ गते नै पुनर्बीमा व्यवसाय चलाउने आशयपत्र पाएको थियो । त्यसयता बीमा समितिले हिमालयन रिका लगानीकर्ताले ७ अर्ब पुँजीको जोहो गरिसकेका छन् ।
पाँच कम्पनीको प्रतिष्पर्धामा अन्यलाई उछिन्दै हिमालयनले बाजी मारेकामा समितिले तोकेको मापदण्डहरुमा सबै भन्दा धेरै अंक ल्याएर हिमालयनले लाइसेन्स पाएको बताइएको छ ।
बिमा समितिले २०७७ फागुन १५ गते नयाँ पुनर्बिमा कम्पनीको सम्भाव्यता अध्ययन गर्न भन्दै समितिका विज्ञ सल्लाहकार भोजराज शर्माको नेतृत्वमा बिमक संघका अध्यक्ष दिपप्रकाश पाण्डे र चाटर्ड एकाउन्टेन्ट सुरज कुमार आचार्य सम्मिलित अध्ययन समिति गठन गरेको थियो ।
सो समितिले दिएको सुझाव अनुसार बीमा समितिले लाइसेन्स प्रक्रिया अघि बढाएको थियो । २१ दिन भित्र योग्यता पुगेका कम्पनीहरुले शिलबन्दी आवेदन दिन समितिले प्रकाशन गरेको सुचनाअनुसार पाँचवटा कम्पनीले आवेदन दिएका थिए ।
त्यसयता हिमालयन रिलाई लाइसेन्स दिइएकामा छानबिनको माग गर्दै अख्तियारमा उजुरी पनि परिसकेका छन् ।
हिमालय रिले १० प्रतिशत सरकारी आरक्षणको व्यापार पाउने भएको छ । हालसम्म सरकारी लगानी समेत रहेको नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत आरक्षित पुनर्बीमा व्यवसाय पाउँदै आएको छ । तर अब भने सरकारी लगानीको कम्पनीले पाउँदै आएको व्यवसाय खोसेर निजी कम्पनीलाई दिने अन्तिम तयारी गरिएको हो ।