हिमालय जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जान पाए अन्तिम स्वीकृति, साउन १ बाट एकीकृत कारोबार

काठमाडौं । बीमा समितिले हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृत दिएको छ । समितिले असार ६ गते सोमबार यी दुई कम्पनीलाई मर्जरमा जानको लागि अन्तिम स्वीकृति दिएको हो ।

मर्जरपछि यी दुई कम्पनीको नयाँ नाम ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड’ बन्नेछ भने साउन १ बाट एकीकृत कारोबार शुरु हुने भएको छ । दुई कम्पनीले गत वैशाख २३ गते आपसमा १ः८५ स्वाप रेसियोमा मर्जर जाने सहमति गरेका थिए ।

यी दुबै कम्पनीको डीडीएको रिपोर्ट आउनुका साथै अन्य प्रक्रिया सकिएकोले समितिले मर्जरका लागि अन्तिम स्वीकृति दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पोडेलले जानकारी दिए ।

‘कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल स्टक एक्चेन्जको प्रक्रिया सकेपछि दुई कम्पनी मिलेर बनेको नयाँ कम्पनीले एकीकृत कारोबार सुरु गर्ने छ ।’ मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने छ ।

यसका साथै दुवै बीमा कम्पनीले एकीकृत कारोबार सुरू गर्नु अघिनै कर्मचारी व्यवस्थापन तथा सेवा सुविधा, शाखा कार्यालय मर्ज तथा स्थान परिवर्तन वा बन्द गर्ने (समितिको स्वीकृति लिएर) दायित्व समायोजन गरी बीमकको हिसाब लेखांकन गर्ने, सञ्चालक समिति निर्वाचनको माध्यमबाट चयन गर्ने लगायतका शर्त पालना गर्नुपर्ने छ ।

सम्झौता अनुपात अनुसार मर्जरपछि हिमालयनको १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ चुक्ता पुँजीमा एभरेष्टको ८५ प्रतिशत चुक्ता पुँजी समावेश हुँदा कुल चुक्ता पुँजी २ अर्ब १८ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

समितिको निर्देशन अनुसार आगामी चैत मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले साढे २ अर्ब चुक्ता पुँजी कायम गर्नु पर्नेछ । मर्जर पछि पनि कम्पनीमा थप ३१ करोड ८९ लाख रुपैयाँ पुँजीको कमी देखिन्छ । नपुग पुँजीका विषयमा कम्पनीको बार्ड बैठकले टुंगो लगाउने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स