कम्पनी सञ्चालनमा आएको १ वर्ष नपुग्दै हिमालय रिले गर्यो प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारणको लागि प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनी सञ्चालनमा आएको १ वर्ष नपुग्दै हिमालय रिले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो । कम्पनीले कम्पनी ऐनको विपरित विशेष साधारण सभा मार्फत उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनी ऐनको दफा २९ को उपदफा १ मा प्रिमियममा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको छ । सोही दफाको उपदफा (४) मा भने यस्तो सेयर जारी गर्न तीन वर्षको लेखा परीक्षण भएको विवरण पेश गर्नुपर्ने उल्लेख छ ।

हिमालयन रिइन्स्योरेन्सले प्रचलित कानुन बमोजिम प्रिमियममा आईपीओ जारी गर्नै नपाउने भए पनि विशेष साधारणसभाको प्रस्ताव आज विशेष साधारणसभा गरेर पारित गरेको हो । बाँकी प्रिमियममा आईपीओ जारी गर्नका लागि कम्पनीले पुर्याउनु पर्ने न्यूनतम मापदण्ड समेत पुर्याएको छैन ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले पनि प्रिमियममा आईपीओ जारी गर्न मापदण्ड तोकेको छ । उक्त नियमावलीको दफा ९ को उपदफा २ मा कारोबार गरेको पुरा एक आर्थिक वर्षको लेखापरिक्षण भएको वित्तीय विवरण सार्वजनिक गरेपछि साधारणसभा बोलाउनु पर्छ । साधारणसभाले पारित गरेपछि मात्रै प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न पाइन्छ ।

धितोपत्रको सोही नियमावलीको दफा २५ को ‘क’ देखि ‘घ’ मा प्रिमियमममा सेयर निष्कासन गर्ने व्यवस्था गरिएको छ । तर यसका लागि पछिल्लो तीन वर्ष खुद मुनाफा भएको हुनु पर्ने, नेटवर्थ बढि हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।

कम्पनीले कम्पनी ऐन र धितोपत्र नियमावलीलाई मिच्दै विशेष प्रस्तावमा प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सञ्चालकले पारित गरेपनि नियामनकारी निकाय बीमा समिति र धितोपत्र बोर्डबाट भने नियमले बाधिएकाले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिन नसक्ने अवस्था छ ।
आज शुक्रबार सम्पन्न सभा होटल अल्फट, ठमेल काठमाडौंमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स