काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेटले लघु बीमाको लाइसेन्स दिने व्यवस्था गर्ने भएको छ । लामो समयदेखि लघुबीमाको लाइसेन्स दिने हल्ला चले पनि स्पष्ट कानुनी व्यवस्था नहुँदा लघु बीमाको लाइसेन्स दिने प्रक्रिया अघि बढ्न सकेको थिएन । तर, अव भने सरकारले बजेट मै सम्बोधन गरेर लघु बीमा खोल्न दिन लागेको हो ।
‘बजेटले लघुबीमालाई लाइसेन्स दिने व्यवस्था गर्ने भएको छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ‘सरकारको चाहना लघुबीमामार्फत सबै क्षेत्रलाई बीमामा समेट्ने हो ।’
न्यून आय भएका वर्ग लगायत सम्पूर्ण नागरिक एवं क्षेत्रमा बीमाको पहुँच पु¥याउन लघुबीमा कम्पनी आवश्यक रहेको बताइएको छ । सरकारलाई लघुबीमाको लाइसेन्स दिनेदेखि लघुबीमामा समेत कृषि तथा पशुपंक्षी बीमामा जस्तै नेपाल सरकारको ७५ प्रतिशत अनुदान प्रदान गर्ने व्यवस्था गर्ने र यसमा भ्याट छुट दिनुपर्ने बजेट सुझाव समितिले दिएको छ ।
सरकारले लघुबीमाको लाइसेन्स नदिएपनि लाइसेन्स दिन्छ भन्ने विश्वासका साथ करिब डेढ दर्जन कम्पनीले बीमा समितिमा लाइसेन्सका लागि आवेदन दिएका छन् । तर, सरकारले भने एउटा प्रदेशमा एउटा एउटा बीमा कम्पनी खोल्न लाइसेन्स दिने भएको छ ।