बीमा कम्पनी पनि मर्जरमा जान थाले, हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले खोले ढोका

काठमाडौं । बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि पहिलो पटक हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सहमति गरेका छन् । दुई कम्पनीबीच बिहीबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एभरेष्ट इन्स्योरेन्स कम्पनीका अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरे ।

पछिल्लो समय बीमा समितिले मर्जरका लागि दवाव दिन थालेपछि मर्जर जाने विषयमा खेतान ग्रूपका अध्यक्ष मोहन गोपाल खेतानका छोरा राजेन्द्र खेतान र राजकृष्ण श्रेष्ठका छोरा महेन्द्रकृष्ण श्रेष्ठका बीचमा पटक पटक छलफल भइरहेको थियो । दुवै कम्पनी एकै पटक स्थापना भएका, दुवै कम्पनीको प्रतिसेयर आम्दानी र चुक्ता पुँजी समेत लगभग समान नै रहेकोले १ः१ रेसियोमा मर्जरमा जान खासै समस्या थिएन । यी दुई कम्पनीका सञ्चालक माया मनोहर बुटिक होटल नागपोखरीमा बैठक बसी हिजो नै मर्जर जाने सहमति गरेका हुन् ।

हाल हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ । यस्तै एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । दुबै कम्पनीको सेयर स्वाप रेसियो १ः१ को अनुपातमा गभिएपछि चुक्ता पुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको थियो । चुक्ता पुँजी बढाउनु पर्ने बाध्यता भएपछि पुँजी थप्नुभन्दा मर्जर जानु उत्तम भन्दै ती दुई इन्स्योरेन्स कम्पनीका सञ्चालकहरूले मर्जरमा जाने सहमति गरेका हुन् ।

दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार दुई कम्पनी मध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रतिसेयर कूल आम्दानी १०.१४ रुपैयाँ छ भने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ छ ।

दुवै कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सकिएपछि सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) तय हुने हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सिईओ विजय बहादुर शाहले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स