९ महिनामा बीमा कम्पनीले १ खर्ब ३१ अर्ब बीमा शुल्क उठाए, कुन कम्पनीको कति ?

काठमाडौं । देशमा सञ्चालनमा रहेका ३९ ओटा बीमा कम्पनीहरुले चैत मसान्तसम्म १ खर्ब ३१ अर्ब १२ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनासम्म यो व्यवसाय गरेका हुन् ।
जीवन बीमा कम्पनीहरूले चैतमसान्तसम्म १९ वटा जीवन बीमा कम्पनीहरूले १ खर्ब २ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् भने २० वटानिर्जीवन बीमा कम्पनीहरूले २९ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।

बीमा समितिको तथ्यांक अनुसार निर्जीवन बीमा कम्पनीहरू यो अवधिमा आर्जन गरेको शुल्क गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २४.६८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २३ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

जीवनतर्फ नेपाल लाइफले नै अगाडि

बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल लाइफ इन्स्योरेन्सले यस अवधिसम्म सबैभन्दा धेरे बीमाशुल्क संकलन गरेकोे छ । सो कम्पनीले २६ अर्ब ३७ करोड ३५ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशनले १२ अर्ब ४५ करोड ६३ लाख ८० हजार रुपैयाँ र तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्सले १० अर्ब १३ करोड ४४ लाख ७५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ९८ करोड ४१ लाख ५३ हजार, नयाँ बीमा कम्पनीको रुपमा स्थापित युनियन लाइफ इन्स्योरेन्सले पाँचौं स्थान ओगटेको छ । कम्पनीले ६ अर्ब १५ करोड ४६ लाख ९३ हजार कुल बीमाशुल्क संनलन गरेको छ । एशियन लाइफ इन्सयोरेन्सले पनि चालु आवको ९ महिना अवधिमा ५ अर्ब १३ करोड ३० लाख ८७ हजार रुपैयाँ बीमशुलक संकलन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्सले ४ अर्ब ३ करोड ४० लाख ८४ हजार, सिटिजन्स लाइफ इन्स्योरेन्स ३ अर्ब ९० करोड ५२ लाख ३८ हजार, प्राइम लाइफ ३ अर्ब ८९ करोड ४४ लाख २० हजार, सूर्या लाइफ ३ अर्ब ६३ करोड ६९ लाख ७८ हजार र सन नेपाल लाइफले ३ अर्ब ३ करोड ८३ लाख ०९ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

थप पाँच जीवन बीमा कम्पनीले २ अर्बभन्दा धेरै ३ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । जसमा रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड ६० हजार, ज्योति लाइफ २ अर्ब ६३ करोड ११ लाख २० हजार, आइएमई लाइफको २ अर्ब ३८ करोड ८६ लाख ६४ हजार, गुराँस लाइफ २ अर्ब ३३ करोड ३३ लाख २७ हजार र रिलायन्स लाइफ इन्स्योरेन्सले २ अर्ब ४ करोड ८३ लाख ९४ हजार रुपैयाँ कुल बीमशुल्क संकलन गरेको छ ।

यस अवधिमा सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफले २ अर्बभन्दा कम बीमाशुल्क संकलन गरेका छन् । १९ ओटा कम्पनीमध्ये सबैभन्दा पछाडि महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । सो कम्पनीले चैतसम्म १ अर्ब ८ करोड १४ लाख १८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । चैत मसान्तसम्मममा प्रभु लाइफको कुल बीमाशुल्क संकलन १ अर्ब ४७ करोड ९२ लाख १३ हजार रुपैयाँ रहेको छ । सानिमा लाइफले यस अवधिमा १ अर्ब ७३ करोड २३ लाख १६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

निर्जीवन बीमा कम्पनीमा कस्ले गर्यो बढी व्यवसाय

निर्जीवन बीमा कम्पनीतर्फ शिखर इन्स्योरेन्सले आफ्नो अग्रतालाई कायमै राखेको छ । चालु आर्थिक वर्षको चैतसम्ममा शिखरले सबैभन्दा धेरै ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको १२.९३ प्रतिशत हो । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको चैतसम्ममा २ अर्ब ९६ करोड रुपैयाँ मात्रै कुल बीमाशुल्क आर्जन गरेको थियो ।

शिखरपछि बढि बीमा शुल्क आर्जन गर्ने कम्पनीको सूचीमा सगरमाथा इन्स्योरेन्स कम्पनी परेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्सले पनि २ अर्ब २३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

सिद्धार्थ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, हिमालयन जनरल, अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमइ जनरल, प्रभु इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र ओरेन्टल इन्स्योरेन्सको कुल बीमाशुल्क पनि एक अर्ब माथि रहेको छ ।

सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा निर्जीवन बीमा कम्पनीमा नेशनल इन्स्योरेन्स रहेको छ । नेशनलले यस अवधिमा ६७ करोड ८८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स