ढिलै भएपनि ३९ वटै बीमा कम्पनीले बुझाए पुँजीवृद्धि योजना, २५ प्रतिशत हदप्रद निष्काशन गर्न कम्पनीलाई छुट

काठमाडौं । बीमा समितिले तोकेको निर्धारित समयभन्दा दुई दिन ढिला गरी ३९ वटै बीमा कम्पनीहरुले पुँजी वृद्धि प्रस्ताव पेश गरेका छन् । अस्ति आइतबारसम्म देशमा सञ्चालित २४ वटा बीमा कम्पनीले पुँजी वृद्धि योजना बुझाएका थिए । हिजो र आज गरी बाँकी जीवन र निर्जीवन बीमा कम्पनीहरूले पुँजीवृद्धि योजना समितिमा बुझाएका हुन् ।

बीमा समितिले बीमा कम्पनीहरूलाई वैशाख ११ गतेसम्म पुँजीवृद्धि योजनाको प्रस्ताव पेश गर्न भनेको थियो । समितिले पुँजी वृद्धि योजना पेश गर्न सो समय सीमा दिएपनि वैशाख १३ गतेसम्म यस्तो योजना प्रस्ताव पेश गरेका हुन् । बीमा समितिले गत चैत १० गते ३० दिनभित्र पुँजी वृद्धि योजना पेश गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

जस अनुसार आगामी २०८० असार मसान्तभित्र जीवन बीमा कम्पनीहरुले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउनुपर्ने र त्यस्तो पुँजी वृद्धिको प्रस्ताव एक महिनाभित्र पेश गर्नुपर्ने उल्लेख थियो ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सबै बीमा कम्पनीहरुले पुँजी वृद्धिको प्रस्ताव पेश गरिसकेका बताए । ‘सबै कम्पनीले पुँजी वृद्धि योजना पेश गरेका छन्,’ उनले भने ‘ बीमा कम्पनीहरूले पेश गरेको उक्त योजना सञ्चालक समितिको बैठक मार्फत अध्ययन गरेर कुन कम्पनीलाई कसरी पुँजी पुर्याउन दिने भनेर निर्णय गछौ ।’

बीमा समितिका अनुसार देशमा सञ्चालित ३९ वटा बीमा कम्पनीमध्ये प्राय सबैले हकप्रद सेयर निष्काशन गरेर निर्धारित पुँजी पुर्याउने योजना अघि सारेका छन् । त्यसो त बीमा समितिले २५ प्रतिशतसम्म हकप्रद सेयर जारी गरेर पुँजी पुर्याउन सक्ने कम्पनीहरुलाई त्यस्तो सुविधा दिन सकिने बताउँदै पनि आएको छ । यो योजनाअन्तर्गत बीमा समितिले कम्पनीहरूलाई २५ प्रतिशतसम्म हकप्रद जारी गर्न दिने बुझिएको छ ।

बीमा समितिको यो योजनाले कतिपय कम्पनीलाई अप्ठ्यारो परेको बीमा कम्पनीका एक प्रमुख कार्यकारी अधिकृत भने ‘विदेशमा थोरै पुँजी भएका कम्पनीले खर्बौंको व्यवसाय गरिरहेका छन्, हाम्रोमा भने नचाहिदो योजना ल्याइयो । कम्पनीको पुँजीबाट व्यवसाय हुने होइन, फेरि पुनरबीमा पनि त गरिएको हुन्छ नि ।’ निकामक निकायले सहजीकरण गरिदिने हो,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स