किसानलाई अनुदानमा चल्ला, गाईभैंसीको बीमा

बागलुङ । वडाको अनुदानबाट यहाँका किसानले पशुपक्षीपालनमा लाभ उठाएका छन् । बागलुङ नगरपालिका-३ ले वडाभित्रका ३३४ किसानलाई ५० प्रतिशत अनुदानमा कुखुराका चल्ला बाँडेको हो ।

वडास्तरीय कृषि समितिका अध्यक्ष बैकुण्ठ सापकोटाले स्थानीय जातका तीन हजार चल्ला वितरण गरिएको बताए । एक सय पर्ने चल्लालाई किसानले ५० तिरेका थिए भने समितिमार्फत वडाले ५० अनुदान दिएको थियो ।

‘एक जनाले आठदेखि १२ वटासम्म चल्ला पाएको छ, कुखुरापालनमा किसानलाई व्यावसायउन्मुख बनाउन अनुदान उपलब्ध गराइएको हो’, अध्यक्ष सापकोटाले भने । अनुदानमा वडाको एक लाख ५० हजार खर्च भएको छ ।

समितिले गाउँटोलसम्मै पुगेर किसानलाई चल्ला बाँडेको थियो । वडामा ठूलो लगानीमा स्थानीय जातका कुखुराको व्यावसाय गरिरहेका किसान पनि छन् ।

अध्यक्ष सापकोटा आफैं पनि व्यावसायिक कुखुरापालक हुन् । समितिले अनुदानमा चल्ला वितरणसँगै वडाका १३२ गाईभैंसीको बीमाका लागि किसानलाई सघाएको छ । ‘वडाका अधिकांश किसानले पशु बीमा गरेको छ, एक करोड ७२ लाख बराबरको बीमा गरिएको छ’, उनले भने ।

एउटा भैंसीको अधिकतम् एक लाख १५ हजारसम्म मोल गरी बीमा गरिएको छ । गाईभैंसीको निर्धारित मूल्यको ८० प्रतिशत बीमा सरकारले र बाँकी २० प्रतिशतमा आधाआधा गरी समिति र किसानले तिरेका छन् ।

वडाको बजेटमध्ये पुश बीमामा ६८ हजार खर्च भएको समितिले जनाएको छ । त्यति नै रकम किसानले पनि हालेका छन् । कूल बीमा रकममा किसानले वर्षेनी आफ्नो दायित्ववापतको पैसा तिर्नेछन् । वडाले आउँदो वर्षमा पनि बीमा कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

एउटै भैंसीको मृत्यु भए किसानलाई झण्डै एक लाख क्षति हुने हुँदा बीमाले त्यसको जोखिम घटाउने समितिको भनाइ छ । व्यावसायिकरूपमा पशुपक्षीपालनका लागि वित्तीय संस्थाबाट ऋण लिँदा पनि बैंकहरुले बीमा खोज्ने गरेको किसान बताउँछन् ।

सरकारले कृषि तथा पशुबीमा कार्यक्रम ल्याएपछि व्यावसायिक ‘फार्म’हरूलाई बढी टेवा पुगेको छ । कुनै कारणले व्यवसायमा क्षति पुगेमा बीमाबाट सोको क्षतीपूर्ति मिल्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स