बीमा कम्पनीको हितका लागि पूँजी वृद्धि गरिएको हो, नीति पालना नगर्ने कम्पनीलाई मर्जर गराइन्छः अध्यक्ष सिलवाल

काठमाडौं । बीमा कम्पनीहरुको हितलाई ध्यानमा राखेर पूँजी वृद्धिको निर्णण गरिएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । उनले तोकिएको चुत्ता पूँजी दिइएको समयसीमा भित्र नपुर्याउने कम्पनीलाई मर्जर गराइने कम्पनीहरुका सञ्चालकहरुसँगको छलफलमा भनेका हुन् ।

सिलवालले बीमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बीमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गर्ने निर्णय गरिएको दावी गरेका हुन् ।

ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा बिहिबार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो गृहकार्य गरेर बीमा कम्पनीहरूको चुक्ता पूँजी वृद्धि गर्ने निर्णय गरिएको स्पष्ट पारेका छन् ।

“बीमा कम्पनीहरूको पूँजी कम छ, कम्पनीहरूको मुनाफा घट्दैछ, प्रशासनिक लागत बढ्दैछ, बीमाको दायरा बढ्दै गएको छ, कम्पनीहरूको दक्षता बढ्न सकेको छैन” अध्यक्ष सिलवालले भने, “बीमा कम्पनीलाई बलियो बनाउने कार्यको यो शुरूवात हो, पूँजी वृद्धिको योजना धेरै अगाडि देखिको हो, पूँजी पुर्याउन नसके मर्जरमा जानुपर्छ, कम्पनीको महत्वपूर्ण आधार भनैकै पूँजी हो, यो सबैको हितमा आएको छ र यसमा केही अप्ठ्यारो परे त्यो फुकाउन समिति तयार छ ।”

अध्यक्ष सिलवालले समितिले नयाँ जीवन तथा निर्जीवन कम्पनीहरू दर्ता नगर्ने जानकारी दिनुहुँदै तोकिएको अवधिभित्र चुक्ता पूँजी वृद्धिको योजना ल्याउन र तोकिएको पूँजी पुर्याउन नसके मर्जरमा जान बीमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा कम्पनीहरूले प्रस्तुत गर्ने चुक्ता पूँजी वृद्धिको योजनामाथि छलफल गरेर देखिएका अप्ठ्यारा फुकाउन समिति तत्पर रहेको बताएका थिए ।

कार्यक्रममा बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूले बीमा समितिले गरेको चुक्ता पूँजी वृद्धिको निर्णय पालना गर्न आफूहरू तयार रहेको बताउँदै पूँजी वृद्धिमा समस्या परे त्यसको समाधान गर्न अभिभावकका रूपमा बीमा समिति तयार हुनुपर्ने बताएका थिए ।

कार्यक्रममा बीमा समितिका निर्देशकहरू सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल सहभागी थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स