एकै क्षेत्रमा लगानी थुपार्दै शिखर इन्स्योरेन्स, बीमीतबाट उठाएको रकम दुरुपयोग हुन सक्ने खतरा

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्येको ठूलो शिखर इन्स्योरेन्सले बीमा समितिको निर्देशन विपरित एकै क्षेत्रमा लगानी थुपारेको छ । बीमा समितिको निर्देश विपरित शिखर इन्स्योरेन्सले क वर्गको बैंकको मुद्दती निक्षेपमा अधिक रकम राखेको भेटिएको हो ।

बीमा समितिले बीमा कम्पनीहरुलाई आफ्नो कुल लगानीको न्युनतम ४० प्रतिशत क वर्गको बैंकको मुद्दती निक्षेप र नेपाल पूर्वाधार विकास बैकको मुद्दतीमा लगानी गर्न निर्देशन दिएको छ । तर, शिखर इन्स्योरेन्सले नेपाल पूर्वाधार विकास बैंकको मुद्दतीमा लगानी नगरी क वर्गको बैंकको मुद्दतमा ५५ प्रतिशतभन्दा बढी लगानी गरेको छ ।

चालु आर्थिक वर्षका पुस मासन्तसम्म शिखर इन्स्योरेन्सले ३ अर्ब ५३ करोड २१ लाख रुपैयाँ लगानी गरेको छ । उक्त रकममध्ये १ अर्ब ९५ करोड २० लाख रुपैयाँ क वर्गको मुद्दती निक्षेपमा इन्स्योरेन्सको लगानी रहेको छ ।
वित्तीय जोखिम न्यूनीकरण गर्न बीमा समितिले बीमा कम्पनीहरूलाई न्यूनतम १२ क्षेत्रमा लगानी गर्न निर्देशन दिएको छ ।

तर, नेपाल लाइफ इन्स्योरेन्सले भने ८ वटा क्षेत्रमा मात्र लगानी गरेको छ । र, एउटा क्षेत्रमा मात्रै ५५ प्रतिशत भन्दा बढी लगानी गरेको शिखर इन्स्योरेन्सले सार्वजनिक गरेको दोस्रो वित्तीय प्रतिवेदनमा देखिन्छ ।

बीमा कम्पनीहरूले वित्तीय जोखिमको सामना गर्नु पर्ने अवस्था आउन सक्छ भनेर एउटा क्षेत्रमा मात्र धेरै लगानी नगर्नु भनेको बीमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडले बताए ।

‘धेरै बीमा कम्पनीहरूले मुद्दती निक्षेपमा पैसा राख्ने गरेका छन् । समितिले त्यस्तो नगर्न बारम्बार निर्देशन दिइरहेको छ,’ पौडेलले भने, ‘निर्देशन नमान्ने कम्पनीहरूलाई कारवाही गरिने छ ।’ पछिल्लो समय बीमा समितिले निर्देशन नमान्ने कम्पनीहरू माथि कारबाही तीव्र पारेको छ ।

समितिले आफ्नो निर्देशन नमान्ने एक दर्जन कम्पनीलाई गत महिना कारबाही गरिसकेको छ ।

समितिले लगानीका लागि क्षेत्र नै तोके पनि शिखर इन्स्योरेन्सले भने नियामक निकायले गरेको निर्देशनलाई लत्याएर आफू खुशी लगानी गरेको हो । इन्स्योरेन्सले बीमा समितिको निर्देशनको विपरित एउटै क्षेत्रमा लगानी थुपारेको छ । उसले बीमा समितिको निर्देशन विपरित लगानीमा विविधिकरण गरेको पाइएको छैन ।

शिखर इन्स्योरेन्सले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउँनेमा जम्मा ४.४२ प्रतिशत लगानी गरेको छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर इन्स्योरेन्सले १५ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ ।

क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा शिखर इन्स्योरेन्सको दोस्रो सर्वाधिक लगानी रहेको देखिन्छ । यस्तो क्षेत्रमा इन्स्योरेन्सले १८ प्रतिशत अर्थात ६४ करोड ६८ लाख रुपैयाँ लगानी गरेको छ ।
क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा बीमा कम्पनीहरुले बढीमा २० प्रतिशतसम्म लगानी गर्न सक्छन् ।

उत्पादनशिल क्षेत्रको रुपमा दर्जिएको कृषि, पर्यटन र जलस्रोत लगायतका पूर्वाधार क्षेत्रमा शिखर इन्स्योरेन्सको लगानी एकदमै न्युन रहेको छ । यस क्षेत्रमा बीमा कम्पनीहरुले अधिकतम २० प्रतिशतसम्म लगानी गर्न पाउँछन् । तर शिखर इन्स्योरेन्सले ३.७५ प्रतिशत अर्थात १३ करोड २७ लाख रुपैयाँ मात्र लगानी गरेको छ ।

म्युचअल फन्ट र नागरिक लगानी कोषमा शिखर इन्स्योरेन्सले ०.८३ प्रतिशत अर्थात् २ करोड ९४ लाख रुपैयाँ मात्र लगानी गरेको छ ।

शिखर इन्स्यारेन्सको चौथो सर्वाधिक लगानी ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ । यस क्षेत्रमा इन्स्यारेन्सले ८ प्रतिशत अर्थात् २८ करोड २५ लाख रुपैयाँ लगानी गरेको छ । यस क्षेत्रमा बढीमा २० प्रतिशतसम्म लगानी गर्न बीमा कम्पनीहरुलाई छुट छ ।

ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा शिखर इन्स्योरेन्सले १.२४ प्रतिशत अर्थात् ४ करोड ४० लाख रुपैयाँ लगानी गरेको छ ।

बीमा कम्पनीहरुले संस्थापक सेयर, सूचीकृत नभएको पब्लिक कम्पनीको साधारण सेयर र अन्य क्षेत्रमा पनि लगानी गर्ने गरेका छन् । यस्तो क्षेत्रमा इन्स्योरेन्सको तेस्रो सर्वाधिक लगानी रहेको छ । अन्य क्षेत्रमा शिखर इन्स्यारेन्सले २८ करोड ४२ लाख रुपैयाँ अर्थात् ८.१५ प्रतिशत लगानी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स