भित्री सूचना चुहाई नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सेयर भित्री सूचना चुहाई (इनसाइडर ट्रेडिङ) कारोबार गरिएको पाइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का एक उच्च अधिकारीका अनुसार पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्सको सेयर इनसाइडर ट्रेडिङ भएको हुन सक्ने आशंकामा अनुसान्धान अघि बढाउन लागिएको छ ।

‘पछिल्लो समय नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा निरन्तर गिरावट देखिएको छ,’ ती अधिकारीले भने, ‘यसले कम्पनीको सूचना अग्रिम रुपमा चुहाएर कारोबार गरिएको हो कि भन्ने आशंका देखिएको छ ।’ यस विषयमा सेबोनले अनुसन्धानको तयारी गरिरहेको ती अधिकारीले बताए ।

करिब ५ महिनादेखि नेतृत्व विहिन बनेको सेबोनले अहिले रमेशकुमार हमाललाई अध्यक्ष रुपमा  पाइसकेको छ । सेबोनले नवनियुक्त अध्यक्षलाई नेपाल लाइफ इन्स्योरेन्सको इनसाइडर ट्रेडिङको सम्बन्धमा बिफ्रिङ गराउने तयारी गरेको छ ।

नवनियुक्त अध्यक्ष हमालले आफ्नो कार्यभार समाल्ने क्रममा साना लगानीकर्ताको हितमा काम गर्ने बताएका थिए । यसले पनि अध्यक्षले नेपाल लाइफ इन्स्योरेन्सको सेयर इनसाइडर ट्रेडिङमा कारोबार भएको विषय गहन रुपमा लिने ती अधिकारीले विश्वास व्यक्त गरे ।

नेपाल लाइफ इन्स्योरेन्सको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १४.७३ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । जसमा १४ प्रतिशत बोनस सेयर र ०.७३ प्रतिशत कर प्रयोजनार्थ नगद रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश बाढ्न नपाउने

तर उक्त निर्णय हुनु पूर्व माघ ३ गतेदेखि नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा निरन्तर गिरावट देखिएको छ । उक्त दिन १,८०० रुपैयाँमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्ला भएको थियो । सोही दिन अधिकतम १,८१० रुपैयाँ र न्युनतम १,७४५ रुपैयाँ र अन्यमा १,७८० रुपैयाँ पुगेर कारोबार बन्द भएको थियो । बुधवार कम्पनीको सेयर प्रति कित्ता १,३३४ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सको लगानी उच्च जोखिममा

माघ ३ गते बढेर कारोबार सुरु भएको नेपाल लाइफ इन्स्योरेन्सको सेयर त्यस पछि भने निरन्तर रुपमा घटि रहेको छ । कम्पनीले विगतका वर्षमा आफ्ना सेयरधनीहरुलाई राम्रो प्रतिफल दिँदै आइरहेको थियो । यो पटक पनि लगानीकर्ताहरु कम्पनीबाट उच्च प्रतिफल पाउने आशमा रहेका थिए । तर नेपाल लाइफ इन्स्योरेन्सले नेप्सेमा सूचीकृत औसत कम्पनीको जस्तो प्रतिफल दियो । लाभांश घोषणासँगै कम्पनीको सेयर मूल्यमा निरन्तर गिरावट कायम रहेको छ ।

कम्पनीले लाभांश घोषणा गर्नु अघि नै सूचना चुहाएकाले कम्पनीको सेयर मूल्य निरन्तर घट्दै गएको आशंकामा अनुसन्धान अघि बढाइएको ती अधिकारीको दावी छ ।

लगानीकर्ता झुक्याउँदै नेपाल लाइफ इन्स्योरेन्स

‘हामीले गरेको शुष्म अध्ययनमा कम्पनीको आन्तरिक व्यवस्थापन प्रणालीमा समस्या देखिएको छ । सार्वजनिक वित्तीय विवरण र वास्तविकतमा मेल छैन,’ ती अधिकारीले भने, ‘यस विषयमा कम्पनी भित्रका उच्च तहका अधिकारीहरु पहिले देखि नै जानकार थिए । र, उनीहरुले आफ्ना निकटका व्यक्तिलाई यस सम्बन्धी पहिलै सूचना चुहाएर सेयर बेच्च लगाएको जस्तो देखिन्छ ।’ अब गरिने थप अनुसान्धानले यस विषय पुष्टी गर्ने ती अधिकारीको दावी छ ।

के हो इनसाइडर ट्रेडिङ ?

कुनै संस्था वा कम्पनीका सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार नै इनसाइडर ट्रेडिङ (भित्री कारोबार) हो । आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिन मिल्दैन । कसैलाई दिएमा त्यस्तो व्यक्तिले धितोपत्रको भित्री कारोबार गरेको मानिने कानुनी व्यवस्था छ ।

ब्लू चिपको ट्याग गुमाउँदै नेपाल लाइफ इन्स्योरेन्स

धितोपत्र ऐनअनुसार ‘भित्री सूचना वा जानकारी’ भन्नाले धितोपत्र जारी गर्ने संस्थाबाट सार्वजनिक नभएको सूचना वा जानकारी सार्वजनिक भए धितोपत्रको मूल्यमा असर पर्न सक्ने किसिमका सूचना वा जानकारी सम्झनुपर्छ । यस्तो कारोबार गर्नेलाई बिगोबमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । त्यस्तो काम कारबाहीबाट कसैलाई हानि नोक्सानी पर्न गएमा त्यस्तो हानि नोक्सानीसमेत भराई दिनुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स