लगानीकर्ता झुक्याउँदै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयर लगानीकर्तालाई झुक्याउँने काम गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेपनि स्वीकृतिका लागि नियामक निकाय बीमा समितिमा पठाएको छैन । नेपाल लाइफ इन्स्योरेन्सको माघ २१ गते बसेको सञ्चालक समितिको बैंठकले १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांश प्रस्ताव गरेको करिब एक महिना अवधि बेत्तित हुन लाग्दा पनि अनुमोदनका लागि बीमा समितिमा वित्तीय विवरण नपठाउँदा केही शंका उब्जिएको नेपाल लाइफ इन्स्योरेन्सका एक सञ्चालकले बताए ।

‘बीमा समितिले भविष्यमा दिने बोनसमा अहिले नै प्रोभिजन गर्नु पर्ने व्यवस्था गरेको छ । यसले गर्दा पनि नेपाल लाइफ इन्स्योरेन्सको बोनस केही घटेको छ,’ ती सञ्चालकले हाम्रोअर्थसँग भने, ‘लगानीकर्तालाई सन्तुष्ट पार्न पनि कम्पनीले अहिले १४ प्रतिशत बोनस सेयर घोषणा गरेको छ । उक्त बोनस दिन पनि वित्तीय विवरणमा केही कुराहरु मिलाउनु पर्ने देखिएको छ ।’

यसले गर्दा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि समितिमा पेश गर्न ढिलाई गरेको ती सञ्चालक बताउँछन् । वित्तीय विवरण बीमा समितिबाट पास हुनु भनेको लाभांश स्वीकृत हुनु हो । बीमा समितिले स्वीकृति प्रदान गरेपछि मात्र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट लाभांश अनुमोदन भएपछि मात्र सेयरधनीहरुमा वितरण हुनेछ ।

नेपाल लाइफ इन्स्योरेन्सको लगानी उच्च जोखिममा

वित्तीय विवरणमा आवश्यक कुराहरु सुधार नगरी अहिलेको लाभांश बीमा समितिबाट स्वीकार हुने अवस्था छैन । प्रस्ताव गरेको लाभांश अस्वीकार हुने अवस्था रहेकाले कम्पनीले वित्तीय विवरण बीमा समितिमा पेश गर्न ढिलाइ गरिरहेको ती सञ्चालकको भनाई छ ।

प्रस्ताव गरे अनुसार कै लाभांश सेयरधनीहरुलाई वितरण गर्न नेपाल लाइफ इन्स्योरेन्स प्रतिबद्ध रहेको ती सञ्चालक दावी गर्छन् । ‘यसका लागि केही समय ढिला हुन सक्छ,’ उनले भने, ‘सेयरधनीहरुले कम्पनीले घोषणा गरे अनुरुप लाभांश पाउँछन् ।’

घट्दै लाभांश

नेपाल लाइफ इन्स्योरेन्स नेप्सेमा सूचीकृत कम्पनीमध्येमा राम्रो लाभांश दिने कम्पनीको रुपमा रहँदै आएको थियो । तर यो पटक भने कम्पनीले आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश औसत कम्पनीको जस्तै रहेको छ । यसले पनि कम्पनीको क्षमतामा ह्रास आइरहेको आभास हुन्छ ।

गत आर्थिक वर्ष २०७६/७७ को लागि कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीको इतिहासकै न्युन हो । विगतमा कम्पनीले आफ्ना सेयरधनीहरुलाई उच्चतम लाभांश दिँदै लगानीकर्ताका माझ ब्लू चिप कम्पनीको रुपमा कहलिएको थियो ।

ब्लू चिपको ट्याग गुमाउँदै नेपाल लाइफ इन्स्योरेन्स

कम्पनीले आव २०७५्/७६ मा ५१ प्रतिशत लाभांश दिएको थियो । जसमा ३१ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश रहेको थियो ।

कम्पनीले आव २०७४/७५ मा ४८.५ प्रतिशत लाभांश दिएको थियो । जसमा २५ प्रतिशत बोनस सेयर र २३।५ प्रतिशत नगद लाभांश रहेको थियो ।

कम्पनीले आव २०७३/७४ मा ७०.५ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ४२ प्रतिशत र नगद २८।५ प्रतिशत रहेको थियो ।

कम्पनीले आव २०७२/७३ मा २६.३१ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस २५ र १.३१ नगद लाभांश रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स