जनयुद्ध कै दिन अर्थमन्त्री शर्माको ‘कू’ !

काठमाडौं । अर्थमन्त्री जनार्दश शर्माले जनयुद्धको दिन (फागुन १ गते) नै ‘कू’ गरेका छन् । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सत्तारुढ दल निकटका व्यक्तिलाई नियुक्त गर्न नपाउँदा मन्त्री शर्माले सीईओका लागि गरिएको सर्टलिष्ट प्रक्रिया नै रद्द गरेका छन् । उक्त प्रक्रिया रद्द गरे अर्थ मन्त्रालयले नया प्रक्रिया सुरु गर्न कम्पनीलाई पत्र लेखेको छ ।

अर्थमन्त्री शर्माले व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण गरी सर्टलिष्ट समेत गरी सीईओ नियुक्तिको लागि कम्पनी सञ्चालक समितिमा पठाउन ठिक्क पारिएको प्रक्रियालाई रद्द गरेर ‘कू’ गरेका हुन् ।

अर्थमन्त्रीले सर्वसाधारणको समेत सेयर रहेको उक्त कम्पनीमा आफूले मोटो रकम लिएका व्यक्तिलाई सीईओमा नियु्क्त गर्न नपाउँदा नियुक्ति प्रक्रिया नै रद्द गरेको बुझिएको छ ।

अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन भएको राष्ट्रिय बीमा कम्पनीको सीईओ छनोट समितिले गत पुस १७ गते ५ जनासँग व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण लिएको थियो । त्यसबाट सुरेन्द्र थापा, रामवहादुर खड्का र शेखर बराल छनोट भएका थिए ।

कांग्रेस निकट बरालसँग अर्थमन्त्रीका भाइ अनिल शर्मा (विद्यार्थी नेता) कांग्रेस महाधिवेशनको लागि मोटो रकम लिएको अर्थमन्त्रालय स्रोतको दावी छ । बराललाई राष्ट्रिय बीमा कम्पनीमा नियुक्त गर्नुपर्ने बाध्यता अर्थमन्त्रीलाई पर्दा उनले अन्तिम प्रक्रियामा पुगेको सीईओ नियुक्ति प्रक्रियालाई नै रद्द गरेका छन् ।

सर्टलिष्टमा परेका तीनजनामध्ये खड्का र थापा दुबै माओवादी निकट हुन् । यसका साथै खड्का अर्थमन्त्री शर्माका छिमेकी (रुकुम) का हुन् ।

त्यसरी नै बराल लुम्बिनी जनरल इन्स्योरेन्समा रहँदा ठमेलको एक रेष्टुराँमा आगजानी काण्ड बनाए ३३ लाख रुपैयाँ दावी भुक्तानी गरेका व्यक्ति हुन् । सो कारण बराललाई बीमा समितिले १० हजार रुपैयाँ जरिवाना गरेको छ ।

अर्थ सचिव मधु कुमार मरासिनी र वित्तिय समन्वय महाशाखा प्रमुख रमेश केसीले राष्ट्रिय बीमा कम्पनीमा सिईओ नियुक्ति प्रक्रिया रोक्न निर्देशन दिएका हुन् ।

अर्थमन्त्रालयभित्र अर्थमन्त्रीले पक्रिया अनुसार बोर्डलाई निर्णय गर्न निर्देशन दिएका थिए । तर सचिव मरासिनी र महाशाखा प्रमुख केसीले शेखर बराललाई नै नियुक्ति गर्न दवाव दिँदै आएका थिए ।

अर्थ मन्त्रालयमा मन्त्री र सचिवबीचको विवादका कारण राष्ट्रिय बीमा कम्पनीका सिईओ नियुक्ती रोक्न पत्राचार गरिएको स्रोतको दावी छ । सीईओ छनोट समितिले भने यसअघि नै कम्पनी सञ्चालक समितिलाई सीईओ नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरेर पठाइसकेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स