स्वदेशमै पुनर्बीमा गर्नुपर्ने समितिको निर्देशनमा अध्ययन समितिको कस्तो आउँला सुुझाव ? विज्ञ भन्छन् ‘रिक्स बाड्ने हो, आफैले ग्रहण गर्ने होइन’

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले मंसिर ९ गते सबै जीवन तथा निर्जीवन बीमा कम्पनीलाई शतप्रतिशत पुनर्बीमा नेपालमा रहेका दुई पुनर्बीमा कम्पनीमै गर्न निर्देशन दियो । समितिले पुनर्बीमावापत हरेक वर्ष बाहिरिने अर्बौ रुपैयाँ स्वदेशमा नै रहने भन्दै यस्तो निर्देशन जारी गरेको हो ।

तर, समितिको यो निर्देशनका विषयमा विभिन्न सरोकारवालाहरूबाट नेपालका पुनर्बीमा कम्पनीसँग त्यति ठूलो जोखिम वहन गर्ने क्षमता नभएको भन्दै टिका टिप्पणी हुन थालेपछि ३ साता अघि बीमा समितिले उक्त निर्देशनको विषयमा अध्ययन गर्न कमिटी गठन गरेको छ ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा हिमालयन रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, नेपाल रि–इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, दुई बीमक संघका अध्यक्षहरू र एकजना विज्ञसहितको अध्ययन कमिटी गठन भएको हो । समितिका कार्यकारी निर्देशक तथा कमिटिका संयोजक पौडेलले उक्त कमिटीले बीमा समितिले दिएको निर्देशनको विषयमा अध्ययन गरिरहेको जानकारी दिए ।

‘१ महिना अध्ययन गरेर कमिटीले रिपोर्ट तयार पार्ने छ, सोही रिर्पोटको आधारमा पुनर्बीमा कम्पनीको व्यवसायलाई नेपाल मै सीमित राख्ने कि विदेशमा पनि पठाउने भन्ने विषयको निर्क्यौल गरिने छ,’ पौडेलले भने ।

बीमा समितिको निर्देशन अनुसार यसरी सबै जोखिम देशभित्रै राख्दा ठूलो जोखिम आउँदा थप जोखिम वहन गर्न सक्ने अवस्था नआउने विज्ञहरूले बताउँदै आएका छन् । समितिले बीमाको मूल्य, मान्यतालाई वेवास्ता गरी यस्तो निर्देशन दिएको र यस्तो निर्देशनले भविष्यमा कम्पनीहरू जोखिममा पर्न सक्ने तर्क राख्दै आएका छन् ।

बीमाको सिद्धान्त विपरित कम्पनीहरूलाई स्वदेशमा नै पुनर्बीमा गर्नु पर्छ भनेर कम्पनीहरूलाई बाध्य पार्न नहुने उनीहरूको सुझाव छ । नेपाल विश्व व्यापार संगठन (डब्ल्यूटीओ) को सदस्य भइसकेको अवस्थामा विदेशमा व्यवसाय लैजान दिन नहुने अर्थात यति ठूलो जोखिम पर्ने विषयमा राज्य अझ बढी संवेदनशील हुनुपर्नेमा सम्बन्ध क्षेत्रका विज्ञहरूले जोड दिएका हुन् ।

‘नेपालका १०/१० अर्बका कम्पनीले ७० अर्ब रुपैयाँको ल्याबलिटी कसरी धान्छ,’ ती विज्ञले भने ‘नेपालका बीमा कम्पनीले पुनर्बीमाको लागि विदेशी कम्पनीसँग व्यवसाय गर्न पाउँदैन भन्नु अर्थात जोखिम वहन गर्न सक्ने क्षमता नै नभएका कम्पनीलाई पुनर्बीमाको सबै हिस्सा दिनु उचित होइन ।’

समितिको यो निर्देशन पछि पुनर्बीमा व्यवसायको टीटी गर्नको लागि विदेशी कम्पनी नै आवश्यक पर्ने आवाज उठिरहेको छ । सिद्धान्त त बीमा कम्पनीहरूले पुनर्बीमा गरेर जोखिम बाड्ने अभ्यास छ । यो सही र ठिक पनि हो । जोखिम भनेको जति बाड्यो त्यति नै हल्का हुने हो । स्वदेशका दुई कम्पनीलाई मात्र जोखिम वहन गर्न दिँदा अप्ठ्यारो पर्ने सक्ने आकलन गरिएको छ । एभिएसनजस्ता ठूला जोखिम नेपालका पुनर्बीमा कम्पनीले लिन नसक्ने उनीहरूले औल्याएका छन् ।

नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले हामीले लिन सक्ने जति जोखिम लिएर लिन नसक्ने जोखिम अन्य कम्पनीलाई हस्तान्तरण गर्ने बताए । विश्वव्यापी मान्यता पनि त्यहि हो,’ उनले भने ‘हामी रिक्समा बस्न मिल्दैन, रिक्स बाडेर नै यसको व्यवस्थापन मिलाउन सकिन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स