काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा अन्तिम दिनसम्म २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
आज साँझ ५ः०७ बजेसम्ममा कम्पनीको आईपीओमा १९ लाख ६ हजार ७४८ जना आवेदकले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
जुन कम्पनीले सर्वसाधरणलाई निष्काशन गरेको सेयरको १३.६५ गुणा बढी हो ।
कम्पनीको आईपीओमा मगभन्दा बढी आवेदन परेको छ । मगभन्दा बढी आवेदन परेकोले सेयर गोलाप्रर्थाबाट बाँडफाँट हुनेछ । जसमा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले सेयर पाउने छन् भने बाँकी १७ लाख २२ हजार बढीको हात रित्तो हुनेछ ।
कम्पनीले पुस २१ गतेदेखि आज पुस २४ गतेसम्म सर्वसाधरणका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता आईपीओ बिक्री गरिसकेको छ । त्यस्तै, ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ ।
रेटिङ एजेन्सी केयर नेपालले इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीको आईपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।