काठमाडौं । दुई वर्ष अघि नेपाल बीमा प्राधिकरणले तीन वटा लघु जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो ।
ठिक २ वर्ष अघि व्यवसाय सुरु गरेका ती कम्पनी मध्ये एकले त पुँजी बढाउन आइपीओ समेत जारी गरिसकेको अवस्था छ ।
प्राधिकरणले प्रदेशगत लाइसेन्स दिएर लघु बीमालेख बिक्रि गर्न भनेको थियो ।
ती कम्पनीले पछिल्लो समय संकलन गरेको बीमा शुल्क संकलन हेर्दा टिक्न सक्ने स्थिति देखिएका छन् ।
बीमा प्राधिकरणले जारी गरेको तथ्याङ्क अनुसार निर्जीवन तर्फ का ४ वटा लघु बीमा कम्पनीले १ लाख ३३ हजार ३ सय ८५ बीमालेख बिक्रि गरिसकेका छन् । त्यस्तै गरि जीवन तर्फका ३ वटा कम्पनीहरुले ४ लाख ९६ हजार ६ सय ३१ कुल बीमालेख बिक्रि गरेका छन् ।
चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा निर्जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको विवरणमा ४ वटा लघु बीमा कम्पनीहरुले १ लाख ३३ हजार ३ सय ८५ बीमालेख जारी गरी कुल ३३ करोड ८८ लाख कुल बीमाशुल्क असुल गरेका छन् ।
लघु बीमक संस्थामा सबैभन्दा बढी बीमा रमक संकलन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड रहेको छ । उक्त कम्पनीले मंसिर मसान्त सम्ममा ३९ हजार ८ सय ६६ बीमालेख संख्या जारी गरी कुल १० करोड १२ लाख रकम संकलन गरेको छ ।
त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड मंसिर मसान्त सम्ममा ३० हजार ३ सय ६१ बीमालेख संख्या जारी गरी ८ करोड ३१ लाख कुल बीमा शुल्क संकलन गरेको छ ।
स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ३५ हजार १ सय बीमालेख जारी गर्दा ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले २८ हजार ५८ गरेको छ भने स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ करोड ७२ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ करोड ७१ लाख कुल बीमाशुल्क संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्बजनिक गरेको तंथ्याकले देखाएको छ ।
चालु आर्थिक वर्षको मंसिर मसान्त सम्ममा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको विवरणमा ३ वटा लघु बीमक कम्पनीहरुले ४ लाख ९६ हजार ६ सय ३१ कुल बीमालेख जारी गरी ४० करोड ३४ लाख बीमा रकम संकलन गरेका छन् ।
लघु बीमक कम्पनीमा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्ने कम्पनीमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ । उक्त कम्पनीले मंसिर मसान्त सम्ममा ३ लाख ३२ हजार ७ बीमालेख संख्या जारी गरी कुल १५ करोड ५६ लाख रकम संकलन गरेका छन् ।
त्यस्तै केष्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले १ लाख ६ हजार ३ सय १७ बीमालेख जारी गरी १४ करोड ७८ लाख कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै गरी सिवर्टी माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड ५८ हजार ३ सय १० बीमालेख जारी गरी ९ करोड ९८ लाख कुल बीमा रकम संकलन गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तंथ्याकले देखाएको छ ।