काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मङ्गलबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए ।
उनले अनुसार राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरिएको हो ।
बैठकले शिक्षक सेवा आयोगको एक जना महिलासहित दुई जना सदस्यहरूको नियुक्तिका लागि सिफारिस गर्न समिति गठन गरेको छ । लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा त्रिभुवन विश्वविद्यालयको उपकुलपति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सदस्य रहेको उक्त समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूचीको क्रम सङ्ख्या ३ बमोजिम मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो तथा अनियमितता र अनुमतिपत्र नलिई क्यासिनो सञ्चालनलाई सम्बद्ध कसुर तोक्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गतका निकायको स्वीकृत दरबन्दीबाटै जनशक्ति व्यवस्थापन गर्ने गरी पर्सा जिल्लाको पोखरिया, जुम्लाको सिंजा, नराकोट र कपिलवस्तु जिल्लाको बोडगाँउमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्न स्वीकृति प्रदान दिने निर्णय गरेको छ ।
मन्त्री गुरुङले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । यसैगरी सवारी तथा यातायात व्यवस्था (दशाँै संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने निर्णय भएको छ । रेल सञ्चालन र मर्मत सम्भारको लागि तालिम प्राप्त जनशक्ति, मर्मत सम्भारको कार्य र सोको लागि आवश्यक उपकरण एवं मालसामान सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ बमोजिम सरकार तथा सरकार विधिबाट खरिद गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने बैठकको निर्णय छ ।
बैठकले राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तिकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र भानबहादुर चन्द (कञ्चनपुर) लाई नियुक्त गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बैठकले नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा रहेको नेपाल सरकारको नाममा दर्ता श्रेस्ता कायम रहेको कावासोती नगरपालिका–३ को कि.नं. १ र कि.नं. २ को सरकारी जग्गामा रहेका विभिन्न प्रजातिका छ सय ४२ गोटा रूख÷पोल हटाउन स्वीकृति दिने निर्णय गरेको छ ।
साविक जिल्ला विकास समितिमा स्थायी नियुक्ति भई कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम गाउँपालिका तथा नगरपालिकामा समायोजन भएका र अन्य सेवाबाट गाउँपालिका तथा नगरपालिकामा समायोजन भई अवकाश भइसकेका र अवकाश हुने कर्मचारीको सञ्चित बिदा, औषधि उपचार र उपदानको रकम कर्मचारी कल्याण कोष र अन्य यस्तै प्रकृतिका कोषबाट भुक्तानी गर्ने र उक्त कोषमा रकम नभएमा वा भएको रकम नपुग भएमा त्यसरी नपुग भएको रकम अर्को कानुनी व्यवस्था नभएसम्म नेपाल सरकारले उपलब्ध गराउने निर्णय भएको छ ।
नेपाल इञ्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव (प्रा) मधुप्रसाद भेटुवाललाई बढुवा गरी जल तथा ऊर्जा आयोगको सचिवालयको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।