स्थलगत रिपोर्टः पृथ्वी राजमार्गमा दृष्य एक, पीडा अनेक, छहरेको सडक प्रयोग गरिदै

‘लाइफलाइन’

काठमाडौं । संघीय राजधानी काठमाडौंको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश स्थानमा क्षति पुगेको छ ।

कतै सडक पुरिएका छन्भने कतै छेउ भासिएका छन् । त्रिभुवन राजपथको नौबिसे नागढुङ्गा खण्डमा पर्ने झ्याप्ले खोलामा नसोचेको मानवीय क्षति भयो । एउटै पहिरोमा ३५ जनाले ज्यान गुमाउनुपर्याे ।

झण्डै दर्जन सवारीसाधनले क्षति व्यहोर्नुपर्याे । झ्याप्ले खोला क्षेत्र आइतबार बेलुकादेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पर्ने नागढुङ्गा–मुग्लिन खण्डमा पनि सोमबार बिहानदेखि सवारी सञ्चालनमा आएका भए पनि आवागमन पूरै सहज भने भइसकेको छैन ।

राजमार्गको घुम्तीघुम्तीमा झरेको पहिराले यात्रा जोखिमपूर्ण बनेको छ । चार दिनसम्म निरन्तर परेको वर्षापछि पाइलैपिच्छे झरेको पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट पूर्वपश्चिमका जिल्ला जाने सवारी छोड्नु अघि पहिरो पन्छाएर भ्याउने लक्ष्यसहित तीनै तहका सुरक्षा निकाय लागिरहेका बताउँदै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले छ सबै पहिरो सफा गरिसक्न अझ केही समय लाग्ने जानकारी दिए । राजमार्गका विभिन्न क्षेत्रमा रोकिएका सवारीसाधन सोमबार बिहानदेखि काठमाडौँ प्रवेश गरेका छन् । काठमाडौंतर्फ जानका लागि चार दिनदेखि सडकमा रोकिएका सयौँ सवारीसाधनलाई दिनभरि लगाएर प्रहरीले काठमाडौँ प्रवेश गराएको हो ।

‘नागढुङ्गा नौबिसे क्षेत्रका पहिरो पूर्ण रुपले थामिसकेको छैन । जुनकुनै ठाउँमा जुनकुनै बेला पहिरो झर्नसक्ने र ढुङ्गा खस्नसक्ने जोखिम छ’, सिलवालले भने ‘जोखिम क्षेत्रमा सवारी चापलाई मध्यनजर गरेर पनि साना तथा हल्का सवारीलाई धादिङको गल्छीबाट नुवाकोटको छहरे हुँदै काठमाडौँ पुग्ने सडक प्रयोग गर्न सहजीकरण गरिएको हो ।’ गल्छीबाट माथिल्लो क्षेत्रमा रहेका साना तथा हल्का सवारीसाधनलाई भने धार्के शीतापाइला सडकखण्डबाट काठमाडौँ प्रवेश गराइएको छ ।

अतिआवश्यकीय सामग्री (पशुचौपाया, दूधजन्य, मासुजन्य, तरकारी, खाद्यान्न) बोकेका सवारीसाधन र यात्रुवाहक बसलाई भने नौबिसे–नागढुङ्गा सडकखण्डको प्रयोग गरी काठमाडौँ प्रवेश गराइएको छ ।

नबिग्रिने सामान बोकेका मालवाहक तथा ठूला लामो दूरीका सवारीलाई भने खुला स्थानमा सुरक्षित भएर बस्न सहजीकरण गरिएको प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले राससलाई जानकारी दिए ।

पहिरोको आसपासमा रोकिएर बसेका सवारीसाधनको संख्या धेरै भएकाले सोमबार दिनभर काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई काठमाडौंतर्फ रोकेर अलपत्र परेका सवारीको उद्धार गरिएको उनले बताए । काठमाडौंबाट पूर्वपश्चिम जाने सवारीसाधनलाई सोमबार साँझदेखि मात्रै नागढुङ्गा नौबिसे सडकबाट छोडिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स