काठमाडौंको जागृतिनगरमा बाल उद्यान बन्दै

काठमाडौं। काठमाडौं महानगरपालिका वडा ३१ जागृतिनगरमा बाल उद्यान शिलान्यास भएको छ । आज काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पार्कको शिलान्यास गरे । त्यस अवसरमा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ्, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नारायण भण्डारीसहित अधिकारीहरु सहभागी थिए ।

शिलान्यास पछि बोल्दै प्रमुख शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करीव ८ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको जानकारी दिए । ‘हामी निर्वाचित भएर आएदेखि जे निर्णय गर्यौं । ती सबै सामुहिक धारणा निर्माण गरेर निर्णय गर्यौं । त्यसकारण हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयन योग्य छन् । सबै कार्यान्वयनमा गएका छन् ।’

भित्री वडा र बाहिरी वडाको विकास तथा व्यवस्थापनका लागि छुट्टाछुट्टै योजना छन् । बस्ती तथा संरचनागत अवस्थितिका आधारमा हामीले भित्री र बाहिरी गरी सहरलाई दुई क्षेत्रमा छुट्याउनु परेको हो । हाम्रा कार्यक्रमहरुमध्ये सरकारका वा अन्य सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो ।

प्रमुख शाक्यले भने, ‘व्यक्तिले प्रयोग गरुञ्जेल स्वामित्व हुनेले पनि खुुल्ला बनाउन प्रयास नगर्ने, जब हामी अतिक्रमित जग्गालाई खुल्ला बनाउँछौँ । त्यसपछि स्वामित्व दावी गर्नेहरु आउन थाल्छन् । यो अभ्यासलाई हामीले कसरी बुझ्ने?’

केटाकेटी हुँदा खुल्ला चौरमा खेल खेल्दा भेटिएका साथीहरुसँगको सम्बन्ध प्रौढ हुँदा पनि मीठो छ । खुल्ला क्षेत्रको सार्वजनिक उपयोगले सामाजिक सदभाव बढाउने उल्लेख गर्दै कार्यक्रममा प्रदेश सभा सदस्य राजेन्द्र गुरुङ्ले बाल उद्यानसँग खेलका केही पक्ष जोडेर लैजान सके सामाजिक गतिविधि बढ्ने धारणा राखे ।

हामीले वडामा ३१ रोपनी सार्वजनिक जग्गा संरक्षण गरिसकेका छौँ । संरक्षण गरिएका जग्गा सामाजिक उपयोगमा ल्याउँछौँ । कार्यक्रममा वडाध्यक्ष नारायण भण्डारीले भने, ‘सार्वजनिक जग्गा संरक्षणसहित गएको साढे ४ वर्षमा हामीले गरेका कामको विवरण पुस्तक प्रकाशन गरेर घरघरमा पुर्याउने प्रयासमा छौँ ।’

कार्यक्रममा वडा सदस्य एवं न्यायिक समिति सदस्य सरोज ढकाल, जागृतिनगर उपभोक्ता समितिका अध्यक्ष मोती घिमिरे, राजनीतिक प्रतिनिधि केशव घिमिरेलगायतको उपस्थिति थियो ।

बागमती नदी किनारामा रहेको करीव ६ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करीव ५ रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुँदैछ ।

जलपा निर्माण सेवाले ७७ लाख २२ हजार ८१३ रुपैयाँमा यसको निर्माण गर्दैछ । गएको भदौ २२ गते निर्माण पक्षसँग महानगरले सम्झौता गरेको थियो । असोज १२ गते कार्यादेश दिइएको योजना यही बर्षको फागुन मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स