काठमाडौं । लगानी बोर्डको प्राविधिक समितिले तेस्रो लगानी सम्मेलनमा लगानीकर्तासमक्ष प्रस्तुत गर्ने गरी विभिन्न समूहमा गरी कुल १४८ परियोजना तयार गरेको छ । निश्चित गरिएका ती परियोजना आठ समूहका छन् । यसरी प्रस्ताव गरिएका आयोजनामा लगानी ल्याउन लगानी बोर्ड आफैँले १२ परियोजनाका लागि आसयपत्र आह्वान गर्ने छ ।
यी परियोजनमा नौमुरे जलविद्युत् आयोजना, कालीगण्डकी–२ जलाशययुक्त आयोजना, भारभुङ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे जलाशययुक्त आयोजना छन् ।
पोखरा अन्तर्राष्ट्रिय सम्मेलन प्रदर्शनी केन्द्र, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र विकास आयोजना, धुलिखेल मेडिसिटी आयोजना पनि प्रस्तावमा छन् । यस्तै चन्द्रागिरि–चित्लाङ–पालुङ चितवन दु्रतमार्ग, सुदूरपश्चिम सार्वजनिक यातायात आयोजनामा पनि बोर्ड आफैँले आसयपत्र आह्वान गर्ने भएको छ ।
लगानी बोर्डले यातायात क्षेत्रका १९ आयोजना पनि आगामी लगानी सम्मेलनमा प्रस्तुत गर्ने भएको छ । बोर्डले अन्तर्राष्ट्रिय लगानीकर्तामाझ आधा दर्जन सुरुङसहित उक्त संख्यामा सडक तथा यातायात परियोजना प्रस्तुत गर्न लागेको हो।
सिस्नेरी खानेपानी, मलेखु–लोथर सडक र सुरुङ, दाउन्नेखण्ड सडक सुरुङमार्ग, खप्तड एकीकृत पर्यटन विकास आयोजनालगायतका सात परियोजना लगानी सम्मेलनमा मार्केट साउन्डिङ परियोजनाका रूपमा पेस गरिँदै छ ।
बोर्ड कार्यालयका अनुसार धौबादी फलाम खानी आयोजनामा निजी क्षेत्रलाई पनि समावेश गर्ने प्रयास हुँदै छ । यसका लागि अर्थ मन्त्रालयको निजीकरण एकाइले स्वीकृत गरेमा आसयपत्र आह्वान हुने छ ।
दोस्रो समूहमा विभिन्न सरकारी निकाय आफैँले कार्यान्वयन गर्ने परियोजना समेटिएका छन् । चयन गरिएका आठ यस्ता आयोजनामा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका छ वटा जलविद्युत् आयोजना छन् ।
ऊर्जा मन्त्रालयले प्रस्ताव गरेका कर्णाली चिसापानी वायु ऊर्जा, हुम्ला कर्णाली, अप्पर चमेलिया, कवाडीखोला टोम डोगर बुढीगण्डकी र सुपर बुढीगण्डकी जलविद्युत् आयोजना छन् । विभिन्न प्रवर्धकले एक तहको लगानी गरिसकेका र आयोजना विकासका लागि थप लगानीकर्ता आवश्यक रहेका १८ परियोजना वित्त व्यवस्थापन गराउने उद्देश्यले सोकेसमा राखिएका छन् ।
यस समूहमा जलविद्युत् आयोजना र प्रसारण लाइन परियोजना छन् । प्रसारण लाइन निर्माणका लागि लगानी बोर्डले पहिलो पटक लगानी जुटाउने पहल गर्न लागेको हो । चार सय केभी क्षमताका इनरुवा–अनारमनी, शीतलपाटी–इनरुवा, तिङ्ला–दुधकोशी–ढल्केबरलगायत प्रसारण लाइनमा वित्तीय व्यवस्थापनका उद्देश्यले सोकेसमा राख्न लागिएको हो ।
नेपालमा प्रसारण लाइनमा हालसम्म निजी लगानी छैन । १९०२ मेगावाटको मुगु कर्णाली, ४५४ मेगावाटको किमाथाङ्का अरुण, ४३९ मेगावाटको बेतन कर्णालीजस्ता ठूला जलविद्युत् आयोजना वित्त व्यवस्थापनका लागि परियोजना लगानीकर्ताका लागि प्रस्तुत गर्न लागिएको छ ।
पाँचखालको सेज निर्माणलाई विशेष आर्थिक क्षेत्र प्राधिकरणले महादेवखोला जलाशययुक्त खानेपानी आयोजना खानेपानी मन्त्रालयले पेस गर्ने निश्चित भएको छ ।
लगानीकर्ताको रुचि लागेमा मात्र प्रक्रिया अगाडि बढाउने उद्देश्यका यस्ता सात परियोजना सोकेसमा राख्न लागिएको हो । मिर्चैया–कटारी–घुर्मी सडक आयोजना, धरान सडक सुरुङमार्ग आयोजना र शक्तिखोर औद्योगिक क्षेत्र विकास आयोजना पनि यही समूहमा राखिएका छन् । यी आयोजनाबारे लगानीकर्ताले चासो देखाएमा अध्ययनका विवरण उपलब्ध गराउने बोर्डको तयारी छ ।
लगानी बोर्डले सामान्य अध्ययन मात्र भएर अवधारणागत (आइडिएसन) तहमा पुगेका ३१ आयोजना परियोजना पनि सोकेसमा राख्ने भएको छ । एम्युजमेन्ट पार्क बाघमारा चितवन, लुम्बिनी कोरिडोरमा विद्युतीय आवागमन आयोजना तथा विभिन्न खानेपानी आयोजनाका परियोजना पनि समावेश गरिएका छन् । लगनखेलमा भूमिगत बजार निर्माण, पाटनढोका, जावलाखेल र लामाचौरमा बहुतले भूमिगत पार्किङ पनि तयारी छ ।
खानी तथा भूगर्भ विभागमार्फत पहिचान भएका १२ सहित १४ खनिजजन्य आयोजनामा लगानी जुटाउन पनि सम्मेलनमा पेस गरिँदै छन् । यसपालि निजी क्षेत्रको प्रयासमा ३१ आयोजना पनि लगानी आह्वान गर्दै सोकेसमा समावेश गर्ने तय भएको लगानी बोर्ड कार्यालयले जनाएको छ ।
सरकारले यहि वैशाख १६ र १७ गते तेस्रो लगानी सम्मेलन आयोजना गर्दैछ ।