बागमती दोभान र अमरावती पार्क बन्दै

काठमाडौं । ‘बागमती दोभान’ र ‘अमरावती’ गरी २ वटा पार्कको शिलान्यास भएको छ । काठमाडौं महानगरको वडा ३२ को भौगोलिक क्षेत्रभित्र निर्माण हुने यी पार्कहरुको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे । त्यस अवसरमा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली वडाध्यक्ष नवराज पराजुलीसहित कार्यपालिका सदस्य, वडा सदस्य र स्थानीयहरु सहभागीता थियो ।

शिलान्यासपछि बोल्दै प्रमुख शाक्यले, महानगर सस्तो नभइ गुणस्तरीय काम गर्ने नीतिमा रहेको उल्लेख गरे । ‘लागत इष्टिमेटभन्दा ३० प्रतिशत ४० प्रतिशत कममा योजना कार्यान्वयनको कबोल गर्ने पद्धतिले काम हुन्छ तर टिकाउ हुँदैन । हाम्रो कानुनले कम लागतमा कवोल गर्नेलाई छान्नुपर्ने व्यवस्था गरेको छ । यसले गर्दा विकास सिकारुहरुले प्रयोग गर्ने ठाउँ बनेको छ,’ प्रमुख शाक्यले भने, ‘गुणस्तरीय कामका लागि उसको क्षमता मुल्याङ्कनको पहिलो शर्त हो ।’

‘सार्वजनिक जग्गा संरक्षण गरेर पार्क बनाउने हामीले लिएको नीति हो । जग्गा कम भए पनि त्यसलाई खुल्ला राख्ने कार्यक्रम छ । हाम्रा नीति र कार्यक्रम स्थानीय सहभागिताले मात्र कार्यान्वयनमा आउँछन् । यसकारण हामी भौतिक पूर्वाधार विकास गरेर समुदायलाई हस्तान्तरण गर्दै आएका छौँ । ता कि स्थानीय दायित्वबाट विकासको दिगो उपयोग हुन सकोस्,’ शाक्यको भनाइ थियो ।

त्यस क्रममा सभामुख श्रेष्ठले, वागमती नदी किनारामा पार्क तथा हरियाली बढाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा जम्मा भएको राजस्व पर्याप्त भएको उल्लेख गर्दै यसलाई कार्यान्वयनमा ल्याउनु पर्ने बताए । स्थानीय विकासका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटै तहका सरकारले लगानी गरिरहेका छन् । आवश्यक पर्दा थप पनि हुन सक्छ । तर, नदीको बचावट, त्यस क्षेत्रको सुधार र संरक्षणका लागि लगानीको पहिलो दायित्व समितिले बोक्नुपर्छ ।

त्यस क्रममा उपप्रमुख खड्गी श्रेष्ठले, सार्वजनिक जग्गा संरक्षण र हरियाली विकास गर्ने महानगरको नीति व्यवहारिक रुपमै कार्यान्वयनमा आएको महसुस भएको अनुभूति राखिन् । महानगरले बनाएका पार्कहरुको दिगो व्यवस्थापनका लागि स्थानीय सहभागिता हुने बताउँदै खड्गी श्रेष्ठले भनिन्, ‘भित्री सहरमा पार्क बनाउन असम्भव भइसक्यो । त्यहाँ जग्गा नै छैन । पैसा भएर मात्र पनि नहुने रहेछ । त्यसैले बाहिरी सहरमा जहाँ सम्भव छ । त्यहाँ पार्क विकास गरौँ ।’

जनताले जे देख्नु भएको छ । जे महसुस गर्नुभएको छ । हामीले गरेको काम त्यही हो । कार्यक्रममा वडाध्यक्ष नवराज पराजुलीले, समयमा निर्माण सकिनु पर्ने बताउँदै गुणस्तरमा प्रश्न उठाउनु पर्ने दिन नआओस् भनेर निर्माण व्यवसायीलाई सचेत गराइन् ।

घर बनाउँदा व्यक्तिले जति निगरानी गर्छ । आफ्नो ठाउँमा विकास हुने सार्वजनिक निर्माणका लागि पनि स्थानीयले त्यत्तिकै मात्रामा खवरदारी गर्नुपर्छ । त्यस क्रममा कार्यपालिका सदस्य हीरादेवी पोखरेलले धारणा राखे ।

अमरावती पार्क उपभोक्ता समितिका अध्यक्ष सरोज नेपालले पार्क निर्माणको निगरानी गर्न समितिकातर्फबाट २ जना इञ्जिनियर र २ जना सामाजिक परिचालकलाई नियमित खटाउने योजना सुनाए । त्यसैगरी बागमती दोभान विकास समितिका अध्यक्ष चेतबहादुर थापाले, पार्कको निर्माण सम्पन्न भइसकेपछि दोभान क्षेत्रको सुन्दरतामा निखार आउने अपेक्षा गरे ।

दोभान पार्क करीव ११ आना जमिनमा निर्माण हुँदैछ । १ करोड ११ लाख ७१ हजार ६४९ रुपैयाँ लागत इष्टिमेट गरिएको पार्क निर्माणका लागि यगन विल्डर्स प्रालिले ६७ लाख ४०९ रुपैयाँ ३५ पैसाका निर्माण कबोल गरेर छनौट भएको छ । भदौ २९ गते काम गर्न अनुमति दिइएको योजना ०७९ असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

अमरावती पार्क करीव ४ रोपनी क्षेत्रफलमा निर्माण हुँदैछ । महानगरले यसको निर्माणका लागि १ करोड ३६ लाख ४६ हजार ७९७ रुपैयाँ इष्टिमेट गरेको थियो । बोलपत्रमा प्रतिस्पर्धा हुँदा केवि सन्स एण्ड सप्लायर्स प्रालिले ८९ लाख ८२ हजार १७७ रुपैयाँमा निर्माण कवोल गरेर छनौट भयो । ०७८ असोज १० गते निर्माण कार्यका लागि महानगर र निर्माण पक्षविच सम्झौता भएको हो । काम ०७८ चैत मसान्तभित्र सक्नु पर्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स