काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐन छिट्टै परिमार्जन गर्ने बताएका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार आयोजन गरेको कार्यक्रममा उनले सार्वजनिक खरिद ऐन परिमार्जन गर्ने बताएका हुन् ।
‘आगामी अधिवेशनमा सार्वजनिक खरिद ऐन संशोधन विधेयक पेश गर्नेछु‘, उनले भने ‘संशोधन गरेर सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउने छु । परिमार्जन गरेर नयाँ खरिद ऐन आउँछ ।’ अहिलेको समसामयीक सन्दर्भहरूलाई सम्बोधन गर्नेगरी विकासमैत्री ऐनको रुपमा हामीले ल्याउँदैछौं । केही समय पछि हामी त्यो पार्लियामेन्टमा पेश गर्छौं’, उनले भने ।
आफू मन्त्री हुनेवित्तिकै सार्वजनिक सडकसम्बन्धी कानुन र सवारी तथा यातायातसम्बन्धी कानुनलाई नयाँ रुपमा अगाडि बढाउन प्रयास गरेको मन्त्री ज्वालाले सो कार्यक्रममा बताए । ‘यातायात व्यवसायीहरूका सवालहरू, लाइसेन्सका विषयहरू, मजदुरको विषयहरू समावेश गर्नेगरी त्यो ऐनलाई छिटोभन्दा छिटो अगाडि बढाउने उनको प्रतिवद्धतन छ ।
यातायात क्षेत्रमा देखिएका धेरै समस्या कानुनी रुपमा नै समाधान गर्नुपर्ने भएकाले यस कामलाई प्राथमिकतामा अघि बढाएको मन्त्री ज्वालाको भनाइ छ ।