काठमाडौं । चालु आर्थिक वर्षमा तनहुँमा दुईवटा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएका छन् । जिल्लाको म्याग्दे गाउँपालिका–४ र ७ जोड्ने म्याग्दे खोला र नगरपालिका व्यास–११ सेरास्थित बुद्धीखोलामा मोटर गुड्ने पुल निर्माण सम्पन्न भएको हो ।
ती पुल निर्माणपश्चात् चार हजार एक सय ४० घरधुरीका १६ हजार दुई सय १० जना प्रत्यक्ष लाभान्वित हुने पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट एक हजार पाँच सय घरधुरीका पाँच हजार नौ सय ६६ जना मानिस लाभान्वित हुने थर्पु–बेलसोती नयाँ सडक उपभोक्ता समितिका संस्थापक अध्यक्ष दिपीकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त पुलको मूल्य अभिवृद्धि कर (भ्याट)बाहेक एक करोड ४१ लाख ५८ हजार नौ सय ९० रहेकामा निर्माण सम्पन्नपछि एक करोड ३२ लाख ३२ हजार नौ सय १४ भुक्तानी गरिएको छ ।
वि.सं २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एन्ड बिल्डर्स पर्वतले पुल निर्माण कार्यको ठेक्का पाएको थियो ।
त्यसैगरी, बुद्धीखोलामा निर्माण गरिएको पुलबाट दुई हजार छ सय ४० घरधुरीका १० हजार दुई सय ४३ जना लाभान्वित भएको बागेश्वरी मार्ग उपभोक्ता समितिले जनाएको छ ।
उक्त पुल भ्याटबाहेक तीन करोड १२ लाख ४६ हजार छ सय १३ को लागतमा निर्माण सम्पन्न भएको हो । वि.सं २०७९ भदौ १ गते सम्झौता गरी २०८१ वैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएकामा लक्ष्य अगावै सम्पन्न गरेको हो ।
स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमश १२ र २० मिटर लम्बाइको पुल निर्माण सम्पन्न भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए । पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएपछि स्थानीयवासी खुशी भएका छन् ।
पुलको निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीलाई अन्तिम भुक्तानी दिने प्रक्रियामा रहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।