काठमाडौं । आज दशैंको विदाको अन्तिम दिन निर्माण व्यवसायीले गत आर्थिक वर्षको सरकारबाट भुक्तानी हुन बाँकी रहेको रकम पाउने भएका छन् । गत आर्थिक वर्षमा दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपैयाँ भुक्तानी गर्न अर्थ मन्त्रालयले अस्ति बुधबार भौतिक तथा पूवार्धार मन्त्रालयलगायतलाई पत्राचार गरेको छ । सोही पत्रको आधारमा भौतिक तथा पूर्वाधार मन्त्रालयले भुक्तान हुन बाँकी रकम निर्माण व्यवसायीको खातामा पठाउन निर्देश गरेको हो ।
अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई गत आवको दायित्व भुक्तान गर्न बुधबार पत्राचार गरेको जानकारी दिए । ‘भौतिक मन्त्रालयलाई निर्माण व्यवसायीको भुक्तान हुन बाँकी रकम भुक्तान गर्न पत्राचार गरिएको छ,’ उनले भने ‘मन्त्रालयका लागि भएको बजेट विनियोजनबाट उक्त रकम भुक्तान गर्न भनिएको हो ।
निर्माण व्यवसायीको भुक्तानी पाउने गरी अर्थ मन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धित कार्यालयमा परिपत्र गरिसकेको छ । उक्त भुक्तानी दशैंअघि नै निर्माण व्यवसायीका खातामा जाने गरी व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थले सो व्यहोराको पत्राचार गरेपनि निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह आजै भुक्तान हुने न्यून सम्भावना रहेको बताउँछन् । अर्थले पत्राचार गरेपनि विनियोजन बजेट पुग्ने आयोजनाले रकम भुक्तान गर्न सके पनि कतिपय आयोजनामा बजेट नै अपुग छ,’ महासंघका अध्यक्ष सिंहले भने ‘गत वर्षको दायित्व चालु आवको बजेटबाट भुक्तान गर्न भनिएको छ ।’