फराकिलो र चिल्लो बन्दै पूर्व-पश्चिम राजमार्ग, कुन खण्डमा कति प्रगति ?

काठमाडौं । पूर्वपश्चिम राजमार्गको आधाभन्दा धेरै सडकखण्ड ४ लेनमा विस्तार हुने भएको छ । महेन्द्र राजमार्ग अन्तर्गतको काँकडभिट्टादेखि गोरुसिंह खण्ड ४ लेनमा विस्तार गर्ने योजनाअनुसार काम शुरु भइरहेको छ ।

पूर्व-पश्चिम राजमार्गलाई फराकिलो र चौडा बनाउने सरकारी योजना अनुसार स्तरोन्नतीको काम भइरहेको छ । नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्ड ठेक्का लागेर निर्माणको चरणमा छ । भने, काँकडभित्ता–लौकी, नारायणघाट–पथलैया र बुटवल–गोरुसिंहे विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । साथै, कमला–ढल्केवर–पथलैया खण्डको डीपीआरका लागि परामर्शदाता छनोट प्रक्रिया सम्पन्न भएको छ ।

पूर्व–पश्चिम राजमार्गको कूल लम्बाइ १०२८ किलोमिटर छ ।

पूर्व-पश्चिम राजमार्गको आधाभन्दा धेरै भाग ४ लेनको बनाउने काम शुरु भइसकेको सडक विभाग आयोजना निर्देशनलय (एडीबी)का उप आयोजना निर्देशक राकेश महर्जन बताउँछन् ।

‘सरकारले दातृ निकायको ऋण सहयोगमा २ लेनको पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको काँकडभिट्टा–गोरुसिंह सडकखण्ड ४ लेनमा स्तरोन्नती गर्न खोजिएको हो,’ उप आयोजना निर्देशक महर्जनले भने, ‘यी सडकखण्ड एडीबी र विश्व बैंकको सहुलियपूर्ण कर्जामा बनाउन शुरु गरिएको छ ।’

नारायणगढ-बुटवल, कमला-कञ्चनपुर, काँकडभिट्टा-लौकी, पथलैया-नारायणगढ र बुटवल–गोरुसिंहे एडीबीको सहयोगमा बन्नेछ भने कमला–ढल्केबहर–पथलैया विश्व बैंकको सहयोगमा बन्नेछ ।

काँकडभिट्टा–गोरुसिंहे सडक खण्डको लम्बाई करिब ७०७ किलोमिटर छ ।

सडक नेपालको प्रमूख यातायातको माध्यम हो । बढ्दो सवारीसँगै सडक आसपासका क्षेत्रमा सवारी दुर्घटना बढ्दो छ । २०१९ सालमा निर्माण गरिएको पूर्व-पश्चिम राजमार्ग स्तरोन्नती नुहँदा जीर्ण हुँदै गएको छ । यसले सवारीको इन्धन र पाटपूर्जाको लागत बढाइरहेको विज्ञको भनाइ छ ।

राजमार्गलाई एशियाली राजमार्गकै स्तरमा विस्तार गर्न लागिएको हो ।

सडकलाई ४ लेनमा विस्तार गरिने भनिए पनि शहर र बस्ती आसपका क्षेत्र भने सर्भिस लेनसहित ६ लेनको हुनेछ । शहर र बस्ती क्षेत्रमा स्थानीय सवारीसाधनका कारण दुर्घटना निम्तिने खतरा हुने भएकाले ६ लनेको बनाउन लागिएको हो । पूर्व–पश्चिम राजमार्गको राइट अफ वे ५० मिटरको छ ।

नारायणगढ-बुटवल

नारायणगढ–बुटवल सडकखण्ड १ सय १३ किलोमिटर लामो छ । नारायणगढ–बुटवल सडकखण्ड अर्थिक वर्ष २०७५÷७६ मा ठेक्का लगाइएको हो । नारायगढ–बुटवल सडक खण्डलाई २ प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । यी दुवै प्याकेजको ठेक्का चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्राप्त गरेको छ ।

नारायणगढ-दाउन्ने ६५ किलोमिटर र दाउन्ने-बुटवल ४८ किलोमिटर छ ।

कर्पोरेसनले भ्याटसहित नारायणगढ–दाउन्ने सडकखण्ड स्तरोन्नति गर्न ९ अर्ब १३ करोड १८ लाख ९५ हजार रुपैयाँ र दाउन्ने–बुटबल सडकखण्डका लागि ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा स्तरोन्नतीको जिम्मा पाएको हो ।
हालसम्म नारायणगढ–बुटवल सडकको भौतिक प्रगति करिब १० प्रतिशत छ । यो सडकखण्ड आर्थिक वर्ष २०७९र८० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कमला–कञ्चनपुर

कमला–कञ्चनपुर सडक खण्ड ८७ किलोमिटर लामो छ । कमला–कञ्चनपुर सडकखण्ड आर्थिक वर्ष २०७७/७८ मा ठेक्का लगाइएको हो । यो सडक खण्डलाई २ प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । यी दुवै प्याकेजको ठेक्का चीनको चाइना रेल्वे नम्बर २ ग्रपले पाएको छ ।

कञ्चनपुर–कुशाहा खण्ड ४० किलोमिटर र कुशाहा–कमला खण्ड ४७ किलोमिटर छ । ग्रुपले भ्याट सहित कञ्चनपुर(कुशाहा ७ अर्ब २७ करोड रुपैयाँ र कुशाहा–कमला ८ अर्ब ३८ करोड रुपैयाँमा स्तरोन्नतीको जिम्मा पाएको हो । कोभिड–१९ को पहिलो लहरको क्रममा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले सडक विस्तारका लागि आवश्यक उपकरण कोभिडका कारण समयमा ल्याउन नसकेकाले निर्माण प्रक्रिया अघि बढ्न सकेको छ । ठेकेदार कम्पनीले आवश्यक निर्माण उपकरण आयात गरिसकेकाले तिहार पनि निर्माणको काम शुरु हुने सडक विभागले जानकारी दिएको छ ।

काकटभिट्टा–लौकी, नारायणघाट–पथलैया र बुटवल–गोरुसिंहे

काकटभिट्टा–लौकी १२० किमी, नारायणघाट–पथलैया १०० किमी र बुटवल–गोरुसिंहे ५० किमीको डीपीआर तयार हुने क्रममा छ ।

सुसङ/इआरएमसीरटेक स्टुडिओ अफ इन्जिनरिङले यी तीन खण्डको डीपीआर बनाउने जिम्मा पाएको हो । २०७७ असोज १८ गते सुसङ/इआरएमसीरटेक स्टुडिओ अफ इन्जिनरिङ र सडक विभाग आयोजना निर्देशनलय (एडीबी) बीच सम्झौता भएको छ ।

परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको आयोजनाले जानकारी दिएको छ । काँकडभिट्टा–लौकी सडकखण्ड डीपीआर ७० प्रतिशत सम्पन्न भएको छ ।
पथलैया–नारायणगढ खण्डको डीपीआर ४० प्रतिशत सम्पन्न भएको छ ।

बुटवल–गोरुसिंहे सडक खण्डमा परामर्शदाताले सर्भेको काम सकिएको छ । तिहार पछि डीपीआरको काम शुरु हुनेछ ।

कमला–ढल्केबहर–पथलैया

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–ढल्केबहर–पथलैया खण्ड विश्व बैंकको आर्थिक सहयोगमा निर्माण गर्न खोजिदै छ ।

सडक विभागअन्तर्गको विकास सहायता कार्यान्वयन महाशाखाले कमला–ढल्केबहर–पथलैया १३० किमी सडक खण्डको डीपीआर तयार गर्न स्पेनको एमरएस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्यान्ट प्रालिलाई छनोट गरेको छ ।

स्पेनको कम्पनीे १९ करोड ४१ लाख ६३ हजार रुपैयाँमा डीपीआरको जिम्मा पाएको हो । परामर्शदाताले १३ महिनामा डीपीआर सम्पन्नगरी विभागलाई हस्तान्तरण गर्नेछ ।

कमला–ढल्केबहर–पथलैया सडकखण्डमा विश्व बैंकको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ । विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवर्धन परियोजनाअन्तर्गत यो सडक रहेको छ ।

एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न गत २०७७ जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ ।

कञ्चनपुर–लौकी

कञ्चनपुर–लौकी करिब ३९ किलोमिटर सडक खण्डको भने हालसम्म डीपीआरको टुंगो लागेको छैन । कञ्चनपुर–लौकी सडकखण्ड भारतको सिमा हुँदै अघि बढ्छ । सरकारले सुनसरीको पकली हुँदै कोसी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रको माथिल्लो क्षेत्रबाट सप्तरीको कञ्चनपुर जोड्नेगरी वैकल्पिक सडक बनाउने योजना अघि बढाएको छ ।

प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन तयार भइसकेको छ । कोरियन परामर्शदाता केईसीसीले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वैकल्पक सडकको लम्बाई ४४ किलोमिटर हुनेछ । कोशी नदीमा चार किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने हुन्छ ।

पूर्व–पश्चिम राजर्मागको रेखांकन परिवर्तन गरेर नयाँ सडक बनाउनुपर्ने हुन्छ । सडकको डीपीआर तयार गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाइएको छ । सडकको रेखांकन परिवर्तन गर्नुपर्ने भएकाले मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हुन्छ ।

प्रारम्भिक प्रतिवेदनअनुसार सडक निर्माण गर्न ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । पुल निर्माण गर्न मात्रै १० अर्बभन्दा धेरै लाग्ने अनुमान छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स