पूर्वाधार निर्माणमा महानगरले खर्चने भयो ७ अर्ब ३४ करोड, कस्तो बन्ला काठमाडौं ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सहरी सान्दैर्यको पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । महानगरले पूर्वाधार निर्माणको लागि ७ अर्ब ३४ करोड ६४ लाख विनियोजन गरिएको छ ।

जुन करिब २९ प्रतिशत हो । यसमध्ये नगर क्षेत्रभित्रका डीपीआर भएका सडक तथा पेटीको मर्मत तथा निर्माण गर्न ‘धुलोरहित काठमाडौं’ योजनालाई १ अर्ब रकम विनियोजन गरेको छ भने सडक निर्माण प्रभावकारी बनाउन भन्दै महानगरले आफ्नै आस्फाल्ट प्लान्ट स्थापनासहित पूर्वाधार एम्बुलेन्सको लागि २५ करोड रकम छुट्याएको छ ।

महानगर क्षेत्रभित्रका प्रमुख सडकहरुमा फाइबर तथा अन्य केबल विस्तारका लागि आफ्नो युटिलिटी डक्ट र सेयर्ड इन्फ्रास्टक्चरका लागि १० करोड बजेट छुट्याइएको छ । बजेटमा सडक, रेलिङ, वाल, कार्यालय परिसर, पार्क क्षेत्रलाई सुन्दर बनाउन ‘सुन्दर महानगर योजना’ अन्तर्गत २५ करोड रुपैयाँ र ‘उज्यालो शहर, मेरो महानगर’ योजनामा सबै सडक तथा गल्लीमा सडक बत्ती र १०० वटा मुख्य चोकमा हाइमास्ट लाइट हाल्न ३० करोड रकम छुट्याएको छ ।

यस्तै महानगरले पैदलयात्रीहरुलाई सहज आवागमन एवम् सडक सुरक्षाका लागि भन्दै १० करोडको कार्यक्रम घोषणा भएको छ । महानगरले सूचना प्रविधि क्षेत्रअन्तर्गत पनि महानगर सुरक्षा र सौन्दर्यमा बजेट राखेको छ । मुख्य सडक, चोक तथा गल्लीमा सर्भिलेन्स क्यामेरा जडान गर्न ‘महानगरले देख्छ’ योजनाका लागि २० करोड रकम छुट्याइएको छ । यो बजेट राम्रोसँग खर्च हुन पाएमा महानगरको मुहार फेरिने अनुमान गर्न सकिन्छ ।

महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा ठूलो रकम शहरी सौन्दर्यका पूर्वाधारमा छुट्याइएको हो । महानगरले आगामी आवका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजारको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख अर्थात ३३.७२ प्रतिशत र पूँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख अर्थात ६६.२८ प्रतिशत बजेट ल्याएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स