काठमाडौं । तपाई आफ्नो सवारी साधन कहिले नवीकरण गर्ने र कति कर तिर्नुपर्छ भन्ने जान्न चहानु हुन्छ ? हरेक सवारी साधन धनीले कुन समयमा कति सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा पाउनु पर्छ । कतिपय सवारी चालकहरू आफूसँग भएको सवारी साधनको कर कहिले तिर्नु पर्ने थाहा नभएकाले पनि हरेक वर्ष जरिवाना तिर्न वाध्य हुन्छन् ।
हामीले आफूले सधै बोकेर हिड्ने ब्लुबुक (सवारीको विस्तुत विवरण) को राम्ररी अध्ययन गयौं भने पनि यो सहजै थाहा पाउन सक्छौं । सबै सवारी साधनको ब्लुबुकको सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ । सोही मिति अनुसार नै हरेक वर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक वर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ ।
ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । सवारीहरूले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन । तर, त्यो मिति आर्थिक वर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाई मान्य हुने छैन ।
उदाहरणको लागि कुनै सवारी साधनको असोज महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर पुस महिनासम्म तिर्न पाइन्छ । तर, कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइदैन । यदि कसैको वैशाख, जेष्ठ र असारमा म्याद सकिने मिति रहेको छ भने ९० दिन थप हुँदैन । वैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको चैत्र महिनामा नै कर तिर्नु पर्छ । नत्र नियम अनुसार जरिवाना लाग्नेछ ।
कति समय गुज्रिए कति तिर्नुपर्छ कर ?
यदि ९० दिन कर तिर्न थप समय हुने सवारी साधनको ९० दिन काटेको ३० दिनसम्म पनि कर नतिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक वर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।
वैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरी वैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक वर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।
कतिपय सवारी चालकहरुले कर कहिले सम्मको तिरेको हो पनि बुझेका हुँदैनन् । ब्लुबुकको अन्तिम पेज (कैफियत) मा हेरेर मात्रै कुन कुन वर्षको तिर्नुपर्ने हो थाहा पाउन सकिन्छ ।