क्यानको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाएका छन् । क्यानका महानिर्देशक राजन पोखरेल उमेर हदका कारण पदबाट राजीनामा दिएपछि क्षेत्रीले निमित्तको जिम्मेवारी पाएका हुन् ।

क्यानको १२ औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बनेका हुन् । राजकुमार क्षेत्रीसँग हवाई उड्डयन क्षेत्रमा ३४ वर्ष सेवा गरेको अनुभव छ । उनले क्यानको प्रवक्ता तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धक पदमा रहेर समेत काम गरिसकेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ । निमित्त महानिर्देशक क्षेत्रीले क्यानलाई प्रभावकारी रूपमा अघि बढाएर संस्थाको गरिमालाई अझ फराकिलो बनाउन दत्तचित्त भएर लाग्ने बताए ।

‘मुलुकको उड्डयन क्षेत्रलाई थप सुरक्षित, भरपर्दो र विश्वसनीय तुल्याउन नीतिगत सुधारदेखि संस्थागत संरचनालाई सुदृढ पार्ने गरी काम गर्ने छु,’ उनले भने । पोखरेलले मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स