कमला-ढल्केबर-पथलैया सडक ४ लेनको बन्ने, स्पेनको कम्पनीलाई १९ करोड ४१ लाखमा डीपीआरको जिम्मा

काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको कमला-ढल्केबर-पथलैया सडक खण्डको विस्तृत परियोजना प्रतिवदेन (डीपीआर) बनाउने कम्पनी छनोट भएको छ । सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाले डीपीआर बनाउनका लागि स्पेनको एम/एस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्यान्ट प्रालिलाई छनोट गरेको हो ।

परामर्शदातालाई १९ करोड ४१ लाख ६३ हजार रुपैयाँमा १३ महिना भित्रमा डीपीआर तयार गर्नेगरी छनोट गरिएको महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर लक्ष्मीदत्त भट्टले जानकारी दिए ।

कमला–ढलकेबर–पथलैया सडकखण्डको डीपीआरका लागि महाशाखाले २०७७ जेठ २२ गते आशय माग गरेको थियो । जसमा ४२ वटा परामर्शदाताले प्रस्ताव बुझाएका थिए । प्राविधिक मूल्यांकनमा सबल देखिएका ८ परामर्शदातालाई प्रारम्भिक चरणमा सूचिकृत भएका थिए । तीमध्ये स्पेनिस कम्पनी प्राविधिक र आर्थिक रुपमा सबल देखिएकाले डीपीआर बनाउनका लागि छनोट भएको हो ।

अन्य कम्पनीको आर्थिक प्रस्ताव यस्तो छ

स्पेनको कम्पनीले डीपीआर निर्माण गर्नका लागि भ्याटसहित ९ लाख ८१ हजार १९४ अमेरिकी डलर र १० करोड ५० लाख ११ हजार रुपैयाँमा जिम्मा पाएको हो ।

प्रारम्भिक चरणमा सूचिकृत भएका परामर्शदाताहरु एम/एस जोइन्ट भेन्चर अफ इन्टरकन्टिनेन्टल कन्सल्ट्रयान्ट एण्ड टेक्नोकार्ट एण्ड दोहा इन्जिनियरिङ, भारतले २३ करोड २१ लाख २१ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

एम/एस जोइन्ट भेन्चर अफ या बीओटीईके बोस्फोरस टेक्निकल कन्सल्टिङ, डोङ एआईएल इन्जिनियरिङ कन्सल्ट्रयान्ट एण्ड उमर मुनशी एसोशिएट, टर्कीले २० करोड ७ लाख ४ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

एम/एस जोइन्ट भेन्चर अफ चेलि इन्जिनियरिङ एण्ड पयुन्घवा इन्जिनियरिङ, कोरियाले २४ करोड १७ लाख ८ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

एम/एस जोइन्ट भेन्चर अफ डासान कन्सल्ट्रयान्ट एण्ड एलईए एसोशियट साउथ एसिया, कोरियाले २५ करोड १३ लाख ८४ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

एम/एस जोइन्ट भेन्चर अफ आईएसएएन कर्पोरेसन, योङ्गमा इन्जिनियरिङ एण्ड एसए इन्फ्रास्ट्रक्चर कन्सल्ट्रयान्ट, कोरियाले २२ करोड ९१ लाख ४४ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

एम/एस जोइन्ट भेन्चर अफ मेइनहार्ट सिंगापुर, कन्सल्टिङ इन्जिनियरिङ ग्रुप एड डोङसङ्ग इन्जिनियरिङ, सिंगापुरले २३ करोड ६९ लाख ६७ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

एम/एस जोइन्ट भेन्चर अफ सुसुङ इन्जिनियरिङ एण्ड कन्सल्टिङ, डोङबु इन्जिनियरिङ एण्ड कोरिया इन्जिनियरिङ कन्सल्ट्रयान्ट, कोरियाले २३ करोड २९ लाख ६६ हजार रुपैयाँमा प्रस्ताव पेश गरेको थियो ।

प्राविधिक रुपमा सबल र सबैभन्दा न्यून रकममा डीपीआर बनाउन तयार भएकाले एम/एस जोइन्ट भेन्चर अफ ईपीटीआईएसए सर्भिसियोस डे इङनेरिया एण्ड एसटीयूपी कन्सल्ट्यान्ट प्रालिलाई जिम्मा दिएको महाशाखाले जानकारी दिएको छ ।

यस्तो हुन्छ सडक

हाल भइरहेको २ लेनको कमला/ढल्केबर–पथलैया सडक खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार गर्न खोजिएको हो ।

‘पूर्व-पश्चिम राजमार्गमा सवारी चाप बढ्दो छ । सवारीको चापलाई सम्बोधन हुनेगरी सडक बिस्तार आवश्यक छ’, भट्टले भने, ‘राजमार्गलाई क्रमिकरूपमा बिस्तार गर्ने सरकारी योजना छ ।’

कमला-ढल्केबर-पथलैया सडकखण्ड विश्व बैंकको सहयोगमा बिस्तार गरिनेछ । यसमा विश्वको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ ।

विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवद्र्धधन परियोजनाअन्तर्गत कमला-ढल्केबर-पथलैया सडक रहेको छ ।

एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न २०७७ जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ ।

डीपीआर तयार भए पछि सडकको विस्तृत लागतको टुंगो लाग्छ । डीपीआरको जिम्मा पाउने परामर्शदाताले एक वर्षभित्रमा सडक र ७६ पुलको डीपीआर तयार गर्नुपर्छ । डीपीआर तयार भएसँगै बिस्तारका लागि ठेक्काको सूचना प्रकाशित गरिने भट्टको भनाइ छ ।

डीपीआरको समय एक वर्ष र निर्माणको समय तिन वर्ष रहेको छ । सम्भवत २०७९ सम्म डीपीआर तयार हुनेछ । लक्ष्य अनुसार काम भएकमा २०८५ सालभित्रमा कमला-ढल्केबर-पथलैया सडक खण्ड ४ लेनमा विस्तार हुनेछ । सडकलाई ४ लेनमा विस्तार गर्ने लक्ष्य राखिए पनि सहरी क्षेत्रको सडक भने ६ लेनको हुन्छ । सहरी क्षेत्रमा स्थानीय सवारीको चाप धेरै हुने भएकाले दुर्घटनालाई न्यूनिकरण गर्न ६ लेनको सडक बनाउन खोजिएको हो ।

पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा बिस्तार गर्ने सरकारको नीति पनि रहेको छ । आगामी आर्थिक वर्षकोे बजेटमा पूर्व-पश्चिम राजमार्ग बिस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कमला-ढल्केबर-पथलैया खण्ड रसिया र भारत सरकारको सहयोगमा निर्माण भएको हो । रुस सरकारको सहयोगमा सन् १९७४ मा ढल्केबर-पथलैया खण्ड १०९ किमी र भारत सरकारको सहयोगमा सन् १९७० मा ढल्केबर-कमला २१ किमी सडक बिस्तार भएको थियो ।

शुरुवाती समयमा एक लेनमा यो सडक निर्माण गरिएको थियो । सन् १९९० मा दुई लेनमा बिस्तार गरिएको थियो । अब एसियाली राजमार्ग मापदण्ड अनुरुप डेडिकेटेड चार लेनमा कमला-ढल्केबर-पथलैया सडक खण्ड बिस्तार हुनेछ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गकै बुटवल-नारायणघाट खण्ड र कमला–कञ्चनपुर खण्ड ठेक्का ठेक्का लागेर निर्माण भइरहेको छ । नारायणगढ-पथलैया, काँकडभिट्टा-लौकी र बुटवल-गोरुसिंगे खण्ड डीपीआरको तयार भइरहेको छ । कमला-ढल्केबर-पथलैया खण्ड बाहेक अन्य खण्ड एशियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गरिँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स