मुग्लिङ-पोखरा सडक विस्तार, स्विट्जरल्याण्ड र नेपालको कम्पनीले ८० करोड ७० लाखमा सुपरिवेक्षण गर्ने

काठमाडौं । मुग्लिङ-पोखरा सडक खण्ड विस्तारको जिम्मा स्विट्जरल्याडण्ड र नेपालको कम्पनीले पाउने भएको छ । सडक विभाग आयोजना निर्देशनालय एडीबीले सुपरिवेक्षणका लागि भदौं २१ गते आसय पत्र जारी गरेको हो ।

आयोजना निर्देशनालय एडीबीका उपनिर्देशक राकेश महर्जनका अनुसार मुग्लिङ–पोखरा खण्डको सुपरिवेक्षणका लागि एम/एस रेनार्डेट स्विट्जरल्याण्ड एशोसिएट सोयल टेष्ट नेपाल र सेमेट छनोट भएको जानकारी दिए ।
यो कम्पनीले २९ लाख ६० हजार ४२२ अमेरिकी डलर र ४६ करोड १ लाख १७ हजार १९२ रुपैयाँमा ठेक्का प्रस्ताव गरेको हो ।

निर्देशनालयको मूल्यांकनमा कुनै कम्पनीलाई चित्त बुझेको छैन भने एक हप्ताको दावी विरोधको समय दिइएको छ,’ महर्जनले भने, ‘उक्त अवधि भित्र दावी विरोध नपरे ठेक्का सम्झौता अघि बढाइने छ ।’

मुग्लिङ-पोखरा सडक खण्ड एडीबीको सहुलियत पूर्ण कर्जामा निर्माण गरिदै छ । २०७६ कात्तिकमा एडीबीको आबुखैरेनी–पोखरा सडक खण्ड स्तरोन्नति गर्न २२ अर्ब रुपैयाँ बराबर ऋण स्वीकृत गरेको थियो ।

निर्देशनालयले छनोट गरेको कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी हुन एडीबीले स्वीकृत प्रदान गरेसँगै ठेक्का प्रक्रिया अघि बढाइने छ ।

मुग्लिङ-पोखरा खण्ड ३ प्याकेजमा विभाजन गरिएको छ । मुग्लिङ-आबुखैरेनी, आँबुखैरेनी–जामुन्ने र जामुन्ने पोखरा ३ प्याकेज रहेको छ । आबुखैरेनी-जामुन्ने र जामुन्ने पोखरा खण्डको ठेक्का लागेर निर्माण शुरु भइसकेको छ । यी दुई खण्डको सुपरिवेक्षणका लागि स्विट्जरल्याण्ड एशोसिएट सोयल टेष्ट नेपाल र सेमेटलाई जिम्मा दिन लागिएको हो ।
सुपरिवेक्षणमा ३ वर्षको निर्माण अवधि, १ वर्षको डिफेक्ट लायविलिटी र ३ वर्षको पर्फमेन्स बेस मेन्टेनेस हुनेछ ।

आबुखैरेनी–जामुन्ने खण्ड विस्तारको लागि चीनको चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ लाख रुपैयाँमा जिम्मा पाएको छ । जामुन्ने-पोखरा खण्ड चीनकै अनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का पाएको छ ।

मर्स्याङदी वारीपारी सडक
मुग्लिङ-आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मर्स्याङदी जलविद्युत् गृह छ । हाल कायम भएको रेखांकनअनुसार सडक विस्तार गर्दा जलविद्युत् गृहमा क्षति पुग्ने थियो । जलविद्युत् गृहलाई बिना हानि सडक विस्तार गर्न आयोजनाले मर्स्याङदी नदीको दुवै किनाराबाट सडक निर्माण गर्ने गरी डिजाइन तयार गरिएको छ ।

सडकको रेखांकन परिवर्तन गर्न मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले २०७५ चैतमा रेखांकन परिवर्तन गर्न स्वीकृति प्रदान गरेसँग डीपीआर प्रक्रिया अघि बढेको हो । परामर्शदाताले डिजाइन तयारगरी आयोजनालाई हस्तान्तरण गरिसकेको छ । उक्त खण्डको वातवरणिय प्रभाव मूल्यांकनको काम भइरहेको छ ।

यस्तो हुन्छ सडक
आबुखैरनी-पोखारा सडकखण्डलाई भूगोल र जनघनत्वको आधारमा सडक चौडा बनाइनेछ । घनावस्ती भएको ठाउँमा स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ । विस्तारित सडक दुवैतर्फ सात÷सात मिटरको हुनेछ ।

एउटा लेन साढे तीन मिटर लामो हुन्छ । मुख्य सडकलाई एक अर्काबाट छुट्टयाउन तीन मिटरको डिभाइडर निर्माण गरिनेछ । आकस्मिक अवस्थामा सवारी रोक्न साढे दुई मिटरको सोल्डर हुन्छ ।

सडकको दुवै तर्फ ६/६ मिटरको सर्भिस लेन हुन्छ । ढल व्यवस्थापनका लागि दुवैतर्फ दुई मिटर छुट्टयाइएको हुन्छ। पैदल यात्रुका लागि एक/एक मिटरको फुटपाथ हुन्छ । सभिर्सलेन र मुख्य सडक छुट्टयाउन ०.७५ मिटरको पर्खाल हुन्छ । सहरी क्षेत्रमा पैदल यात्रु तथा सवारीको चाप धेरै हुने भएकाले सडक फराकिलो बनाउन खोजिएको हो ।

खुल्ला ठाउँ र पहाडी वस्ती भएको स्थनमा सडक १८ मिटरसम्मको हुनेछ । यी स्थानमा सभिर्स लेन र ढल निर्माण गर्नु पर्ने भएकाले सडकको चौडाइ सानो हुने गरी डिजाइन गरिएको आयोजनाले जनाएको छ । यो सडक खण्डमा पर्ने मादी र सेती नदीमा सिग्नेचर (आकर्षक) पुल पनि बनाउने आयोजनाको तयारी छ । सडक विभाग पुल महाशाखाले पनि मादी र सेतीमा सिग्नेचर पुल बनाउन अध्ययन गरिरहेको छ । सिग्नेचर पुल नेपालका लागि नवीन प्रविधि हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स