खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर प्रयोग नगर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्यांकी परिसरका सीमा क्षेत्रका जग्गामा डोजर लगाउँदा खानेपानी ट्यांकीमा क्षति पुग्न गई खानेपानी वितरण समेत अवरुद्ध हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन सम्बन्धित सबैलाई आयोजना निर्देशनालयले आग्रह गरेको हो ।

आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौंको आरुबारीमा निर्माण सम्पन्न गरी संचालनमा रहेको ८५ लाख लिटर क्षमताको खानेपानी ट्यांकी रहेको क्षेत्रको सीमामा पर्ने जग्गामा जग्गाधनीले डोजर लगाई करिव ४ मिटर गहिराईमा खन्दा ट्यांकीको सुरक्षाका लागि निर्माण गरिएको आरसीसी पर्खाल भत्किन गई खानेपानी ट्यांकीमा समेत क्षति पुग्ने अवस्था सिर्जना भएको छ ।

तसर्थ, खानेपानीका ट्यांकी, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका क्षेत्रमा डोजर लगाउनुभन्दा अगाडि यस आयोजना निर्देशनालयसँग समन्वय गर्न तथा सुरक्षाको पर्याप्त प्रवन्ध गर्न गराउन सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

यस निर्देशनालयको आग्रह विपरित डोजर लगाई खानेपानीका संरचनामा क्षति पु¥याउनेहरुले नै क्षतिको जिम्मेवारी लिनुपर्ने र क्षतिपूर्ति समेत तिर्नुपर्ने समेत स्पष्ट पारेको छ ।

काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी सर्वसुलभरुपमा उपलब्ध गराउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ खानेपानी ट्यांकी निर्माण गर्दै जाने क्रममा विभिन्न स्थानमा थप पाँचवटा खानेपानी ट्यांकीको निर्माण कार्य जारी रहेको छ ।

जस अनुसार, तीनचुली महांकालमा ८० लाख लिटर क्षमताको, न्यू महांकालमा १३ लाख लिटर, कीर्तिपुरमा ६० लाख लिटर, गोल्फुटारमा २ लाख १० हजार लिटर र बाँसबारी हेपाली हाइटमा १५ हजार लिटर क्षमताका खानेपानी ट्यांकीहरु निर्माण भइरहेका छन् ।

यसअघि, काठमाडौंका जगडोल आरुबारी, हेपाली हाइट, पानीपोखरी, बालाजु, टिगनी तथा न्यू महांकाल र भक्तपुरको कटुञ्जेमा खानेपानी ट्यांकीहरु निर्माण सम्पन्न भई हाल संचालनमा रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स