तीन वर्षमा ‘मिनी रंगशाला’ को ३३ प्रतिशत काम

चौतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौताराको टुँडिखेलमा अत्याधुनिक ‘मिनी’ रंगशाला निर्माण थालिएको तीन वर्षमा ३३ प्रतिशत मात्रै काम भएको छ ।

बागमती प्रदेश सरकारको गौरवको आयोजनाअन्तर्गत सार्वजनिक निर्माण कार्यान्वयन एकाइ, काभ्रेमार्फत ४१ करोड ६२ लाख लागतमा रंगशाला निर्माण सुरु गरिएको हो । निर्माण थालिएको तीन वर्षमा अपेक्षाअनुसार काम अघि बढ्न सकेको छैन ।

जिल्लामा खेलकुद गतिविधिलाई लक्षित गरेर निर्माण सुरु गरिएको रंगशालाको काम साढे दुई वर्षमा सकिनेगरी सम्झौता गरिएको थियो । ठेकेदार कम्पनीको लापर्वाहीले सम्झौता सकिएको पाँच महिनासम्ममा पनि जम्मा ३३ प्रतिशत मात्र काम भएको सार्वजानिक निर्माण कार्यान्वयन इकाइ भैंसेपाटीका प्रमुख डा. चन्द्रप्रसाद लुइँटेलले जानकारी दिए ।

उनका अनुसार रंगशालाको पूर्वपश्चिम र उत्तरतर्फ दर्शक बस्ने ‘प्याराफिट’, ‘स्टेयर्स’, ‘सब्टिचुसेन एरिया’, सञ्चार क्षेत्र, ‘चेञ्जिङ रुम’, ‘फिजियोथेरापी रुम’, ‘रेफ्री रुम’ र ‘भिआइपी’ व्यक्तिका लागि विशेष रुम निर्माण गर्ने योजनारहेको छ । ठेकेदारले ढिलासुस्तीका कारण निर्माणको काम लम्बिएको छ ।

रंगशालाको हालसम्म छ वटा प्याराफिटमा दुई निर्माणको चरणमा छ भने तीन वटा ‘प्याराफिट’को काम सुरु नै भएको छैन । प्रदेश सरकारले छ हजार पाँच सय दर्शक क्षमता भएको रंगशाला निर्माण गर्न लागेको हो । रंगशाला निर्माणका लागि टक्सार÷शान्तिदेवी जेभीले ठेक्का पाएको छ ।

समयमै रंगशालाको निर्माण सम्पन्न हुन नसक्दा सुन्दर टुँडिखेल कुरुप बनेको स्थानीय होटल व्यवसायी रामचन्द्र नेपालले बताए । उनका अनुसार निर्माणका क्रममा निस्किएको माटोले पानी पर्दा टुँडिखेल हिलाम्मे हुने गरेको छ ।

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठले समयमै ठेकेदारले काम सम्पन्न गर्दा खेलकुद गतिविधि आयोजनामा समस्या भएको गुनासो गरे । यसअघि जिल्लास्तरका खेलकुद यही खेल मैदानमा हुने गरेको बताउँदै अध्यक्ष श्रेष्ठले भने, ‘अहिले केही खेलकुद गर्नुपरे लामोसाँघु पुग्नुपर्छ ।’

चौतारा नजिकै दरबारडाँडामा अर्को खेल मैदान भए पनि डाँडामा भएकाले बल हराएर गेम खेल्नै समस्या हुने गरेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स