१ करोड ७५ लाख लगातमा काठमाडौंमा झीगु इच्छुमती पार्क र इच्छुमती कोरिडोर बन्यो

काठमाडौं । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले वडा २८ मा झीगु इच्छुमती पार्क र प्रदेश सभा सदस्य केशव स्थापितले शंकरदेव क्याम्पसबाट प्रदर्शनी मार्ग जोड्ने टुकुचा कोरिडोर शुभारम्भ गरे ।

पार्क महानगरले निर्माण गराएको हो भने कोरिडोर प्रदेश सभा सदस्य स्थापितको संसद कोषबाट निर्माण भएको हो । पार्कको लागत ३७ लाख ७० हजार हो भने कोरिडोरको करीब १ करोड ३८ लाख रुपैयाँ हो । कोरिडोर १ सय ४० मिटर लम्बाईको छ ।

यी संरचनाको उद्घाटनपछि बोल्दै काठमाडौं महानगर प्रमुख शाक्यले, एउटा वडामा कम्तीमा एउटा पार्क बनाउने नीतिअनुरुप सार्वजनिक जग्गा संरक्षण गरेर त्यहाँ पार्क बनाइरहेको उल्लेख गरे । ‘बजेटको समस्या छैन । स्थानीयमा विवाद भएन भने जुनसुकै काम पनि सजिलै गर्न सकिन्छ । हामी टुकुचा नदीको दायाँवायाँ दुवैतिर हिँड्न मिल्ने बनाउँछौँ ।’

शाक्यले विकास निर्माण र निर्माणमा विरोध गर्ने प्रवृत्तिमा कुरा गर्दै काम गर्न नदिने तर काम भएपछि जस लिन हानाथाप गर्ने चरित्र हावी हुँदै गएको उल्लेख गरे ।

वडा र वडासँग सिमाना जोडिएका क्षेत्रको विकासका सन्दर्भमा प्रमुख शाक्यले भने, रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । दोस्रो चरणमा शान्तिवाटिका विकास गर्दैछौं । वडा १ मा कमलपोखरीको पहिलो चरणको काम सकिएको छ । यसमा दोस्रो चरणको काम हुँदैछ ।

त्यस क्रममा प्रदेश सभा सदस्य स्थापितले, नदी किनारामा कोरिडोर बनाउन कसैसँग समन्वय गरिरहनु नपर्ने बताए ।

टुकुचामा कोरिडोर निर्माण गर्दा समाज कल्याण परिषदले स्वामित्व माग गरेको सन्दर्भ उठाउँदै उनले भने, ‘महानगरको विकासका अवरोध गर्ने परिषदसँग समन्वय गर्ने होइन, सम्पत्ति महानगरले लिएर विघटनको कुरा उठाउनुपर्छ ।’ टुकुचामाथि घर बनाउनेहरुको घर भत्काउनु पर्छ । टुकुचा जहाँ जहाँ बगेको छ । त्यहाँ त्यहाँ कोरिडोर बनाउनुपर्छ । दरबारभित्र पनि कोरिडोर बनाउनुपर्छ ।’

धेरै जनतालाई सुविधा हुने काम गर्दा कसले के भन्ला भनेर बाटो कुर्नु नहुने स्थापितको भनाइ थियो । काम सुरु गरिहाल्ने हो । विरोध आयो भने पछि जवाफ दिँदै जानुपर्छ ।

पार्क निर्माण गर्ने क्रममा सार्वजनिक जग्गा पहिचान गरेर वडाले १० लाख रुपैयाँ खर्च गरेर पर्खाल लगाएको थियो । वडा २८ का अध्यक्ष भाइराम खड्गीले, भौतिक पूर्वाधार विकास विभागको डिजाइन र उपभोक्ता समितिहरुको सक्रियताबाट पार्क निर्माण भएको उल्लेख गरे ।

पहिले टुकुचाको बाढी आउँदा यो ठाउँका घर भत्काउला जस्तो हुन्थ्यो । कार्यक्रममा वडा सदस्य देवेन्द्र खड्गीले वडाका कामका बारेमा चर्चा गर्दै तार व्यवस्थापनमा काम गर्न बाँकी रहेको उल्लेख गरे ।

सरकारले बागमती, विष्णमतीसहित उपत्यकाका नदी सफाइ तथा व्यवस्थापनमा काम गरेको छ । कार्यक्रममा झीगु ईच्छुमती खल उपभोक्ता समितिका अध्यक्ष मदन तण्डुकारले, ठूला नदी आमा र ईच्छुमती नदी छोरी भएको उल्लेख गर्दै यसको बचावट र सुन्दरतामा काम गर्नुपर्ने बताए ।

यी कामका लागि झीगु ईच्छुमती खल उपभोक्ता समिति, ईच्छुमती खोला व्यवस्थापन उपभोक्ता समिति र ईच्छुमती खोला संरक्षण मुल उपभोक्ता समितिले काम गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स