अनियमितताको पराकाष्ठ, कहिले नखुल्ने बाहिरी चक्रपथको कार्यालयमा वर्षोदेखि भाडा, चार जना कार्यालय सहयोगी

काठमाडौं । काठमाडौं उपत्यकाको बाहिरी चक्रपथ विकास आयोजनामा अनियमितताका थप प्रमाण फेला परेका छन् । आयोजनाको कार्यालय सञ्चालनका लागि लिइएको घरको भाडा तथा कार्यालय सञ्चालनका क्रममा खरिद नै नगरिएका सेवा र वस्तुको नाममा हरेक वर्ष खर्च गरिएको पाइएको छ ।

घरधनीले लिने गरेको भाडा र कार्यालयले भुक्तानी गर्ने भाडाको रकममा अन्तर छ भने कार्यालय सहयोगीलाई तलब रोकेर राखिएको छ । उल्टै, कर्मचारीलाई खुवाएको चिया, खाजा, पानीलगायतको खर्चसमेत अहिलेसम्म भुक्तानी नदिएको गुनासो तल्लो तहका कर्मचारीको छ ।

आयोजनाको सुरुदेखि नै सतुगलस्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालयबाट सय मिटर पूर्वमा रहेको चोकसँगैको घरको पहिलो तलामा बाहिरी चक्रपथ विकास आयोजनाको साइड कार्यालय राखिएको छ तर उक्त कार्यालयबाट कुनै काम भएको छैन । तीन कोठाको कार्यालयबाहिर झुन्ड्याइएको बोर्ड धुजाधुजा भइसकेको छ भने अक्षर मुस्किलले मात्र पढ्न सकिन्छ ।

यो समाचार रिपोर्टिङका क्रममा कार्यालय खोज्दै पुग्दा मंगलबार १२ बजे नै कार्यालयको ढोकामा ताल्चा झुन्डिएको थियो । आयोजनाको कार्यालय यति अप्ठ्यारो ठाउँमा छ कि दिउँसै मोबाइलको टर्च बालेर ढोकामा झुन्डिएको ताल्चाको फोटो खिच्नु परेको थियो ।

घरधनी नारायणभक्त जोशीले १८ वर्षदेखि आफ्नो घरमा आयोजनाको कार्यालय रहेको जानकारी दिए । ‘कहिलेकाहीँ एक जना महिला आएर सफा गरेको देख्छु तर कोही पनि कर्मचारी आएर कार्यालय सञ्चालन गरेको देखेको छैन । पहिला एक दुई जना आएर कहिले काहीँ बस्नुहुन्थ्यो तर तीन चार महिनादेखि कोही पनि आएका छैनन् ।

कोठा सधैँ बन्द भएको देख्छु । मैले दुई–तीन वर्ष अघिदेखि नै काम हुँदैन भने अफिस छोड्दिनुहोस् । मलाई किन बेकारमा पैसा तिर्नुहुन्छ ? भनेर काठमाडौँ नै गएर हाकिमलाई तीन/चार पटक नै भनेको छु तर केही सुनुवाइ भएन । जनताले तिरेको कर त्यत्तिकै खेर गइरहेको छ ।’

कार्यालयको घरभाडाका विषयमा समेत घरधनीको एउटा भनाइ छ भने काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख आयुक्त जानुका ढकालले कार्यालयको मासिक घरभाडा २२ हजार रुपैयाँ तिर्ने गरेको बताए । घरधनी जोशीले मासिक १६ हजार दुई सय रुपैयाँका दरले प्रत्येक तीन/तीन महिनामा कर कटाएर घरभाडा पाउने गरेको बताए ।

नखुल्ने कार्यालयमा चार सहयोगी

कहिल्यै सञ्चालन नहुने सो आयोजना कार्यालयमा चार जनालाई करारमा कार्यालय सहयोगी नियुक्त गरिएको छ । वेदनाथ घिमिरे, कृष्णप्रसाद तिवारी, नीरमाया राना र हुकुमबहादुर जीसी कार्यालय सहयोगीका रूपमा नियुक्त भएका छन् । कार्यालयमा कहिलेकाहीँ कुचो लगाउन कार्यालय सहयोगी नीरमाया राना आउने गरेकी छिन् ।

कार्यालयमा कोही हाकिम नआए पनि बेलाबेलामा आएर कुचो लगाउने, सरसफाइ गर्ने गरेको छु । तैपनि वैशाखदेखि तलब नपाइएको उनले बताइन्  । उनले काठमाडौँबाट आउने हाकिमहरूलाई पानी, चिया, खाजा खुवाएबापत पसललाई पाँच हजार पाँच सय रुपयाँ तिर्न बाँकी रहेको रकमसमेत उपलब्ध गराइदिन आग्रह गरे ।

कार्यालय सञ्चालन शीर्षकमा खर्चैखर्च

कार्यालय सञ्चालन नभए पनि कार्यालयको फर्निचर, कम्प्युटर खरिद, बिजुली बत्ती, पानी, फोन, नेट, मसलन्द खर्च आदि शीर्षकमा मासिक लाखौँ रुैियाँ खर्च हुँदै आएको छ । आयोजनाको प्रारम्भदेखि नै चालु खर्च वार्षिक एक करोडभन्दा बढी खर्च हुँदै आएको छ ।

अहिलेसम्म सो आयोजनामा चालु खर्चको नाममा २० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा सो आयोजनाको शीर्षकमा चालूतर्फ ९९ लाख ८७ हजार रुपियाँ विनियोजन गरिएकोमा अहिलेसम्म चालुतर्फको विनियोजित बजेट पूरा खर्च भइसकेको छ ।

कहिल्यै नखुल्ने कार्यालय सञ्चालनका लागि चालु आर्थिक वर्षमा फर्निचरमा चार लाख, मेसिनरीमा डेढ लाख, मसलन्दमा एक लाख ७९ हजार, नेटमा एक लाख, टेलिफोन, हुलाक, कुरियरमा एक लाख सात हजार, पानी तथा बिजुलीमा ४१ हजार रुपयाँ खर्च भएको छ ।

भउचप्रसाद यादव

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स