काठमाडौं । सरकारले थोरै जग्गामा पनि अग्लो/ ठूलो क्षेत्रफलको भवन बनाउन पाउने गरी भवन निर्माण मापदण्ड संशोधन गरेको छ । सहरी क्षेत्रमा आवास निर्माणका लागि जग्गा कम हुँदै गएपछि सरकारले जमिनको क्षेत्रफलभन्दा ठूलो भवन बनाउन पाउने गरी मापदण्ड संशोधन गरेको हो ।
अवको मापदण्डले दि काठमाडौ उपत्यकामा ५ आना जग्गामा आवसीय भवन बनाउने हो भने ६ हजार ८४५ स्वायर फिटसम्मको साढे ५ तले भवन बनाउन पाइने छ । पहिला ५ आना जग्गामा आवसीय घर बनाउँदा चार तले घर बनाउन पाइन्थ्यो भने अव बढेर साढे ५ तले बनाउन पाइने भएको छ ।
काठमाडौं उपत्यकामा ५ आना जग्गा छ भने ६ हजार स्वायर फिटसम्मको ५ तले व्यापारिक तथा सभासम्मेलन गर्ने भवन बनाउन पाइने भएको छ । यसरी व्यापारिक भवन बनाउँदा प्रत्येक तलामा १२ सय स्वायर फिटसम्मको क्षेत्रफल भएको तला बनाउन पाइने इन्जिनियर योगेश कार्कीले जानकारी दिए ।
संशोधित मापदण्डअनुसार अव काठमाडौं उपत्यकामा बन्ने मिश्रित आवासीय भवनमा ‘फार’ (फ्लोर एरिया रेसियो) ४.५ सम्म कायम गरेको छ । मापदण्डअनुसार उपत्यकामा बन्ने व्यापारिक तथा सभा सम्मेलन भवनको फार ३.५ कायम गरिएको छ । आवासीय भवनले ४.० र संस्थागत भवनले २.५ फार कायम गर्नुपर्ने गरी मापदण्ड फेरिएको छ ।
काठमाडौं उपत्यकाका सबै ठाउँमा यसअघि भुइँ क्षेत्र अनुपात (फार) ४.० थिएन । यसअघि काठमाडौं महानगरपालिकाभित्र योजनाबद्ध आवासीय उपक्षेत्रमा फार ३.५ थियो ।
संशोधित मापदण्डमा पहाडमा व्यापारिक सभा सम्मेलन तथा आवसीय भवनको फार ३.५, मिश्रित आवसीय भवनको फार ४ र संस्थागत भवनको भार २.५ हुनुपर्ने व्यवस्था मापदण्डले गरेको छ । त्यस्तै तराईमा व्यापारिक तथा सभा सम्मेलन, आवसीय तथा मिश्रित आवसीय भवनको फार ३ प्रतिशत र संस्थागत भवनको २.५ फार कायम गरिएको छ ।
यसअघि देशभर भवन संरचना निर्माण गर्न औसतमा फार २.० भन्दा बढी थिएन। काठमाडौं महानगरपालिका भित्र योजनाबद्ध आवासीय उपक्षेत्रमा फार ३.५ कायम गरिएको थियो ।
के हो फार ?
फार भन्नाले भवनको सम्पूर्ण तलाहरूको क्षेत्रफलको योगफललाई भवन बन्ने जग्गा वा घडेरीको क्षेत्रफलले भाग गरेर आएको भागफललाई जनाउँछ । जग्गाको क्षेत्रफल र घरको क्षेत्रफलको रेसियोलाई फार भनिन्छ ।
संशोधित मापदण्डले १० मिटरसम्म उचाई भएका सार्वजनिक भवन र संयुक्त भवनले १.५ मिटर सेटब्याट छोड्नु पर्नेछ । १० मिटरदेखि १७ मिटरसम्म सार्वजनिक भवनले ३.० मिटर र संयुक्त भवनमा २.० मिटर सेटव्याक छोड्नु पर्ने मापदण्डमा उल्लेख गरिएको छ । यो मापदण्ड सहरी क्षेत्रका पुरानो बस्तीमा लागू हुने छैन ।
१७ देखि २४ मिटरसम्मको सार्वजनिक भवनले ४ मिटर र संयुक्त भवनले ३ मिटर सेटब्याक कायम गर्नुपर्ने छ । २४ देखि ३१ मिटरसम्मको सार्वजनिक भवनले ५ मिटर र संयुक्त भवनले ४ मिटर सेटब्याक छोड्नुपर्ने हुन्छ ।
३१ देखि ३८ मिटरसम्मको सार्वजनिक भवनले ५ मिटर र संयुक्त भवनले ५ मिटर सेटब्याक, ३८ देखि ४५ मिटरसम्मको सार्वजनिक भवनले ७ मिटर र संयुक्त भवनले ६ मिटर सेटब्याक, ४५ देखि ५२ मिटरसम्मको सार्वजनिक भवनले ८ मिटर र संयुक्त भवनले ७ मिटर सेटब्याक छोड्नुपर्ने मापदण्डमा उल्लेख छ ।
५२ देखि ५९ मिटरसम्मको सार्वजनिक भवनले ९ मिटर र संयुक्त भवनले ८ मिटर सेटब्याक, ५९ देखि ६६ मिटरसम्मको सार्वजनिक भवनले १० मिटर र संयुक्त भवनले ९ मिटर सेटब्याक, ६६ देखि ८० मिटरसम्मको सार्वजनिक भवनले ११ मिटर र संयुक्त भवनले १० मिटर सेटब्याक, ८० देखि ९४ मिटरसम्मको सार्वजनिक भवनले १२ मिटर र संयुक्त भवनले ११ मिटर सेटब्याक छोड्नुपर्ने व्यवस्था गरेको छ ।
९४ देखि १०० मिटरसम्मको सार्वजनिक भवनले १३ मिटर र संयुक्त भवनले १२ मिटर सेटब्याक कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ । संयुक्त आवासको हकमा अगाडि तर्फको सेटब्याक तराईमा ८ मिटर र काठमाडौं उपत्यका/पहाडको क्षेत्रमा न्यूनतम ६ मिटर हुनुपर्ने व्यवस्था मापदण्डमा गरिएको छ ।
[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/05/बस्ती-विकास-तथा-भवन-निर्माण-सम्बन्धी-आधारभूत-निर्माण-दो-सं-मापदण्ड-२०७८-2.pdf”]