काँकडभित्ता-लौकी सडक खण्डमा ११ ओभरपास र २० अन्डरपास बन्ने

पूर्व-पश्चिम राजमार्ग विस्तार

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गतको काँकडभित्ता-लौकी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । सडक विभाग आयोजना निर्देशनालय (एडीबी)का आयोजना उपनिर्देश राकेश महर्जनले काँकडभित्ता-लौकी सडक खण्डको डीपीआर तयार भएको जानकारी दिएका हुन् ।

‘परामर्शदाताले डीपीआर तयारगरी आयोजनालाई बुझाई सक्नु भएको छ । डिजाइनमा आवश्यक संशोधन गर्नका लागि आयोजनाले कमेन्ट परामर्शदातालाई पठाएको छ,’ महर्जनले हाम्रोअर्थसँग भने, ‘परामर्शदाताले कमेन्टअनुसारको संशोधन गरेपछि सडक विभागबाट स्वीकृती दिइने छ ।’

सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले काँकडभित्ता–लौकी खण्डको डीपीआर तयार गरेको हो । सुसङ/इआरएमसी/टेक स्टुडिओ अफ इन्जिनरिङले काँकडभित्ता–लौकी खण्डका साथै नारायणघाट-पथलैया र बुटवल-गोरुसिंहे सडकको पनि डीपीआर तयार गरिरहेको छ ।

आयोजना निर्देशनालय र सुसङ/इआरएमसी÷टेक स्टुडिओ अफ इन्जिनरिङबीच दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्न आवश्यक डीपीआर निर्माण गर्न २०७७ असोज १८ गते सम्झौता भएको हो ।

परामर्शदाताले भ्याट बाहेक २३ करोड ६५ लाख रुपैयाँ र १५ लाख ५७ हजार अमेरिकी डलरमा डीपीआरको जिम्मा पाएको आयोजनाले जानकारी दिएको छ ।

सम्झौता बमोजिम परामर्शदाताले दुई वर्षभित्रमा डीपीआर तयारगरी निर्देशनालयलाई हस्तान्तरण गर्नेछ । काँकडभिट्टा-लौकी १२० किलोमिटर, पथलैया-नारायणघाट १०६ किमी र बुटबल-गोरुसिंहे ४४ किमी रहेको छ ।

परामर्शताले हाल काँकडभिट्टा-लौकीको डीपीआर संशोधन र पथलैया-नारायणघाट र बुटबल-गोरुसिंहेको डीपीआर तयार गरिरहेको छ ।

शहरी क्षेत्रमा ६ लेनको सडक

पूर्व-पश्चिम राजमार्ग २ लेनको छ । यसलाई विस्तारगरी ४ लेनको बनाउन लागिएको हो । उपनिर्देशक महर्जनका अनुसार बस्ती क्षेत्रमा सर्भिसलेन सहित ६ लेनको सडक विस्तार गरिनेछ । जंगल तथा बस्ती नभएको क्षेत्रको सडक भने ४ लेनको हुनेछ ।

स्थानीय सवरीको चाप धेरै हुने स्थानमा आवश्यकताका आधारमा फ्लाईओभर र अण्डरपास पनि निर्माण गरिनेछ । फ्लाई ओभर र अन्डरपासले राजमार्गमा गुड्ने सवारीको आवगमनमा स्थानीय सवारीको अवरोध हुनेछ ।

११ वटा ओभरपास र २० वटा अन्डरपास बन्दै

परामर्शदाताले तयार गरेको डीपीआर अनुसार काँकडभिट्टा-लौकी खण्डमा ११ वटा ओभरपसा र २० वटा अन्डरपास निर्माण हुनेछ ।

अन्डरपास चारआली, बासवारी, पकलीमा १/१ वटा , बिर्तामोडमा २ वटा, दमक र इटहरीमा ३/३ वटा अन्डरपास निर्माण हुनेछ ।

चारआलीमा मेची राजमार्गको क्रसिङ, बासवारीमा तीनपानी जाने सडक र पकलीमा चन्दबेला सडकमा ओभरपास बन्ने छ ।

साथै, बिर्तामोडमा चारपाने सनिश्वरे सडक र हस्पिटल छेउमा ओभरपास बन्ने छ ।

दमकमा दमक बसपार्क, पशुपति रोड, राजस्व कार्यालय र क्रिकेट ट्रेनिङ सेन्टरमा ओभरपास बन्ने छ ।
यस्तै, इटहरीमा ३ वटा ओभरपास बन्ने छ । इटहरीको तलतलिया रोड क्रसिङ, कोशी हाइवे क्रसिङ र कलंकी चोक, जननायक बीपी कोरइराला रोडमा ओभरपास बन्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स