काठमाडौं । निर्माण व्यवसायीहरुले विकास निर्माणको काम अघि नबढाउने (कन्स्ट्रक्सन होलिडे) गर्ने भएका छन् । आज चैत १४ गते काठमाडौंमा सम्पन्न भएको निर्माण व्यवसायीको राष्ट्रिय भेला २०७८ले कन्स्ट्रक्सन होलिडे गर्ने निर्णय गरेको हो ।
निर्माण सामाग्रीको मूल्यवृद्धि, सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८मा भएका त्रुटि सच्याउन, बीमा सम्बन्धी जारी गरिएको निर्देशिकालगायतका प्रवाधान संशोधन तथा खारेज गर्न र एकमुष्ठ म्याद थपलगायतको विषयमा निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेला आयोजना गरेको थियो । निर्माण व्यवसायीहरुले माग गरेको विषय सम्बोधन नभएसम्म विकास निर्माणका काम बन्द गर्ने निर्णय राष्ट्रिय भेलाबाट पारित गरिएको एक निर्माण व्यवसायीले हाम्रोअर्थसँग बताए ।
निर्माण व्यवसायी महासंघले राष्ट्रिय भेलाबाट पारित भएको निर्णयहरु सार्वजनिक गर्न मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दैछ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घान गरेको नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशनमा अध्यक्ष रवि सिंहले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अनुसारको मूल्य समायोजन नगरिए कन्स्ट्रक्सन होलिडे गर्ने चेतावनी दिएका थिए । सरकारले निर्माण समाग्रीमा भएको मूल्यवृद्धि अनुसारको मूल्य समायोजन गर्नेतर्फ तदारुक्ता नदेखाएकाले कन्स्ट्रक्सन होलिडे गर्नु पर्ने अवस्था सिर्जना भएको एक निर्माण व्यवसायी बताउँछन् ।