१७ करोडमा बन्ने भयो ग्वार्को चोकको फ्लाइओभर

काठमाडौं । चक्रपथको ग्वार्को चोकमा १७ करोड रुपैयाँमा फ्लाइओभर बन्ने भएको छ । ग्वार्को चोकको फ्लाइओभरको निर्माणका लागि एम/एस आशिष समानान्तार रेलिगर जेभीले प्राप्त गर्न लागेको सडक विभाग गुणस्तर अनुसान्धान विकास केन्द्रले जानकारी दिएको छ ।

फ्लाइओभर बनाउनका लागि प्राविधिक रुपमा सबल देखिएका कम्पनीहरुमध्ये एम/एस आशिष समानान्तार रेलिगर जेभीले सबैभन्दा कम आर्थिक प्रस्ताव पेश गरेकाले निर्माणको जिम्मा दिन आशयपत्र जारी गरिएको केन्द्रले जानकारी दिएको छ ।

एम/एस आशिष समानान्तार रेलिगर जेभीले भ्याट सहित १७ करोड ६ लाख ८९ हजार रुपैयाँमा फ्लाइओभर निर्माण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्तावमा ठेक्का दिन केन्द्रले आसयपत्र जारी गरेको हो ।

अन्य कम्पनीले दावी विरोध नगरे यो साता भित्रमा एम÷एस आशिष समानान्तार रेलिगर जेभीसँग ठेक्का लागि सम्झौता गरिने केन्द्रका प्रमुख तथा सडक विभागका उपमहानिर्देशक प्रभात झाले जानकारी दिए ।

ग्वार्को चोकमा ४ लेनको फ्लाइओभर बनाउन करिब ३५ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । तर एम÷एस आशिष समानान्तार रेलिगर जेभीले आधा रकममै फ्लाइओभर बनाउने प्रस्ताव गरेसँगै ठेक्का पाउने भएको हो ।

केन्द्रले फ्लाइओभर निर्माणका लागि असार २८ गते ठेक्का निकालेको थियो । जसमा ९ वटा कम्पनीले प्रस्ताव बुझाएका थिए ।

शर्मा एण्ड कम्पनी, लामा-गोल्डेन गुड जेभी, सूर्य-भ्याली विकास-ब्रदर्स जेभी, एलाइट कन्स्ट्रक्सन, अनक-श्रेष्ठ जेभी, तुन्दी-रसुवा–रोशन जेभी, कालिका कन्स्ट्रक्सन, आशिष-समानान्तर जेभी र एमआर भीम-सगरमाथा जेभीले आवेदन बुझाएका थिए ।

जसमा लामा-गोल्डेन गुड जेभी प्राविधिक मूल्यांकनकै क्रमबाट बाहिरिएको थियो ।

केन्द्रले सुरुमा ७ वटा कम्पनीलाई मात्र प्राविधिक रुपमा छनोट गरेको थियो । प्राविधिक मूल्यांकन गर्दा एलिट कन्स्ट्रक्सन कालो सूचीमा परेकाले केन्द्रले उसलाई छनोट गरेको थियो । एलिट कन्स्ट्रक्सनले कालो सूचीबाट हटेको अदालतबाट स्टे अडर्र ल्याए पछि उसलाई पनि समावेश गरेर पुन प्राविधिक रुपमा सबल कम्पनीको सूची निकालिएको हो । प्राविधिक रुपमा सबल देखिएका कम्पनीहरुको एक साता भित्रमा आर्थिक प्रस्ताव खोलिने छ । आर्थिक र प्राविधिक मूल्यांकनमा सबैभन्दा उच्च अंक ल्याउने कम्पनीले ग्वार्को चोकको फ्लाइओभर निर्माणको जिम्मा पाउने छ ।

केन्द्रले पहिलो चरणमा ग्वार्को चोक र त्यसपछि सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने योजना बनाएको छ ।

केन्द्रले चक्रपथको कलंकी–कोटेश्वर खण्ड अन्तर्गत सबैभन्दा धेरै जाम हुने ग्वार्को चोकमा पहिलो चरणमा ग्रेड सेपरेटेड इन्टरसेक्सन निर्माण गर्ने योजना अघि बढाएको हो ।

सोही योजनाअनुसार जियोकम(बीडीए) रेज जेभीले बिस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने जिम्मा पाएको थियो । परामर्शदाताले ग्वार्को चोक, सातदोबाटो चोक र चापागाँउ चोक, एकान्तकुना चोक र नख्खु चोकमा फ्लाइओभरको डीपीआर तयारगरी केन्द्रलाई हस्तान्तरण गरिसकेको छ ।

ग्वार्को चोकको फ्लाइओभर इन्जिनियरिङ प्रोक्यूरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा फ्लाइओभर निर्माणका लागि ठेक्का निकालिएको हो । इपीसी मोडलमा निर्माणको जिम्मा पाउने कम्पनीले नै डिजाइ पनि तयार गर्नेछ । यस अघि केन्द्रले तयार पारेको डिजाइनको आधारमा निर्माण कम्पनीले उपयुक्त डिजाइन तयारगरी निर्माण प्रक्रिया अघि बढाउने छ ।

फ्लाइओभर २ वर्षभित्रमा निर्माण गर्ने योजनाका साथ केन्द्रले ठेक्का निकालेको हो । यसमा डीपीआरको अवधि ४ महिना रहेको छ ।

यस्तो हुनेछ फ्लाइओभर

परामर्शदाताले तयार गरेको डिजाइन अनुसार ग्वार्को चोकमा ओभरपास (सडक माथि सडक) निर्माण गरिनेछ । ३५ मिटर लम्बाइको ओभरपास हुनेछ ।

ओभरपासको उचाई ५.५ मिटरको हुनेछ । ओभरपासमा सवारीसाधन चढ्नका लागि दायाँतर्फ १८० मिटरको र बायाँ ११० मिटरको र्याम निर्माण गरिनेछ ।

ओभरपासले चक्रपथको मूख्य चार लेन ओगट्ने छ । चक्रपथको मूख्य सडक प्रयोग गर्ने सवारीसाधन ओभरपास हुँदै गुड्नेछन् ।

ग्वार्को–लामाटार सडक र ग्वार्को-पाटन सडकतर्फ जाने सवारीसाधन भने ओभरपास मुनिबाट गुड्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स