मेलम्चीको खानेपानी वितरणका लागि १ हजार २२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार

काठमाडौं । मेलम्चीको खानेपानी दीगो एवम् भरपर्दो प्रणाली मार्फत काठमाडौं उपत्यकाबासीको घर घरमा उपलब्ध गराउनका लागि हालसम्म करिव १ हजार २२० किलोमिटर खानेपानीको नयाँ वितरण संजाल तयार भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) बाट काठमाडौं उपत्यकाको चक्रपथभित्र विभिन्न क्षेत्रमा गरी १ हजार २२० किलोमिटर नयाँ खानेपानी पाइपलाइन विच्छाउने कार्य सम्पन्न भई नयाँ खानेपानी वितरण संजाल तयार भएको आयोजना उपनिर्देशक एवम् सूचना अधिकारी उज्वल प्रजापतिले जानकारी दिए । यसबाट ती क्षेत्रका करिव एक लाख घरधुरीमा खानेपानीका नयाँ पाइपलाइन पुगेको छ ।

यसैगरी, काठमाडौं उपत्यकाको चक्रपथभित्र खानेपानी संजाल सुधार एवम् विकास गर्ने क्रममा बाँकी रहेका क्षेत्रहरू र चक्रपथ बाहिरका विभिन्न स्थानमा समेत नयाँ खानेपानी पाइपलाइन विच्छ्याउने कार्यलाई तीब्रता दिइएको छ ।

त्यस क्रममा काठमाडौंको चपक्रपथभित्रका गोंगबु, म्हेपी, नयाँबजार, स्वयम्भु, बाफल, कलंकी, कालीमाटी, सोल्टीमोड र डल्लुक्षेत्रमा गरी २२४ किलोमिटरमध्ये ५० किलोमिटर र बसुन्धरा, बालुवाटार, धुम्बाराही, रानीबारी, कपुरधारा, सामाखुशी, उत्तरढोका, लाजिम्पाट, गौरीघाट, महाराजगञ्ज, विशालनगर, सुकेधारा, चाबहिल, लैनचौर र हाँडिगाउँ क्षेत्रमा गरी २४९ किलोमिटरमध्ये ६० किलोमिटर खानेपानी वितरण पाइपलाइन बिच्छ्याइएको छ । जसबाट ती क्षेत्रका जम्मा ५३ हजार १०६ घरधुरीमध्ये ११ हजार ६२८ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यसैगरी, काठमाडौंको चक्रपथ बाहिरका मण्डिखाटार, कपन, गल्फुटार, चावहिलको बाहिरी भाग र तीनचुली लगायतका क्षेत्रमा जम्मा २९० किलोमिटरमध्ये हाल ६४ किलोमिटर पाइपलाइन बिच्छ्याउने कार्य सम्पन्न भएको छ । जसबाट ती क्षेत्रका जम्मा ९ हजार ७७६ घरधुरीमध्ये ४ हजार ३६ घरधुरीमा खानेपानीको नयाँ पाइपलाइन पुगेको छ ।

यस्तै, खानेपानी चुहावट नियन्त्रणका लागि हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खानेपानी वितरण संजालका पाइपलाइनहरूको परीक्षण गर्ने कार्य समेत भइहेको छ ।

यसका साथै, वितरणका लागि खानेपानी भण्डारण गर्न काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कूल ७४ हजर ५०० घनमिटर क्षमताका १० वटा ठूला खानेपानी भण्डारण ट्याङ्कीको निर्माण सम्पन्न भएको छ भने ती ट्याङ्कीसम्म खानेपानी लैजान निर्माण गरिएको ७७ किलोमिटर थोक वितरण संजालको परीक्षण गर्ने कार्य सम्पन्न गरी संचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

यसैगरी, केयूकेएलका मौजुदा आठवटा खानेपानी भण्डारण ट्याङ्कीहरूलाई समेत नयाँ खानेपानी वितरण प्रणालीसँग जोडिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स